close

महोत्तरी नेकपा माओवादी केन्द्रमा चुलियो विवाद 

महोत्तरी नेकपा माओवादी केन्द्रमा चुलियो विवाद 

Trulli
ADVERTISEMENT

महोत्तरी– नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा विवाद चुलिएको छ । आकांक्षी धेरै भएको र आ–आफ्नै अडानका कारण सम्मेलन सम्पन्न हुन नसकेको नेकपा माओवादी केन्द्र महोत्तरीले जनाएको छ । अहिलेसम्म १३७ मध्ये १३० वडामा सम्मेलन सम्पन्न भएको छ भने बाँकी ७ वडामा विवाद छ । केही पालिकामा विवादकै कारण सम्मेलनको बन्दसत्र नै स्थगित भएका छन् ।


जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म ९ पालिकामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा पुगेको छ । बर्दिबास नगरपालिकामा १७ मंसिरमा हुने भनिएको अधिवेशन आकांक्षीको विवादका कारण स्थगित भएको छ ।

 

विवादकै कारण माओवादीका शीर्ष नेताहरू पालिकाका उद्घाटन र बन्दसत्रमा आफैं  सहभागी भएका छन् । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन् ।


रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीचमै जबर्जस्ती पदाधिकारी मनोनीत गरिएको स्थानीय नेताहरूको आरोप छ । अहिले जिल्लामा सम्मेलन भइरहँदा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्का र संघीय सांसद पोखरेलका २ प्यानल बनेका छन् ।


दुवै नेताहरू आ–आफ्नै उम्मेदवार बनाउने रणनीतिमा लागेका छन् । खड्का र पोखरेलबीचको अडानले सहमति हुन अप्ठेरो भइरहेको एक नेताले बताए ।कतिपय वडाका वडा सम्मेलन अझै हुन सकेका छैनन् । पुसमा हुने तय भएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा वडा सम्मेलन अन्योलमा पर्दा प्रतिनिधि छनोटमा समेत अलमल उत्पन्न भएको छ ।


माओवादी केन्द्रको नगरका लागि ६५ सदस्यीय र गाउँपालिकाका निम्ति ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ । तर, सम्मेलन भइसकेका कतिपय पालिकामा विवादकै कारण कतिपय पद रिक्त बनेका छन् । गौशाला नगरपालिकामा २ पद खाली राखेर सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

 

बर्दिबास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसिरलाई निर्धारण गरिएको छ । सकेसम्म सर्वसम्मत गर्ने नभए निर्वाचन प्रक्रियामै गएर भए पनि २२ मंसिरमा बर्दिबासको अधिवेशन सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।