close

नेताको गुणगानबिनै कांग्रेस महाधिवेशन

नेताको गुणगानबिनै कांग्रेस महाधिवेशन

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनका लागि देशैभरका कार्यकर्ताले भृकुटीमण्डप भरिएको छ । महाधिवेशनका लागि प्रदर्शनीमार्गमा सवारी निषेध गरिएको छ । 

 

भित्र छिर्ने पद्मोदय मोडमा एउटा सादा गेट बनाइएको छ । महाधिवेशन स्थलमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहको फोटो राखिएको छ । भृकुटीमण्डपभित्र ठूलो स्टेज बनाइएको छ । महाधिवेशन प्रतिनिधि बस्न अगाडि कुर्सीको व्यवस्था गरिएको छ । महाधिवेशन स्थलमा प्रतिनिधि नअट्ने आकलन गरेर भृकुटीमण्डप छिर्ने गेटमा र बाहिर सडकमा दुई ठाउँमा स्क्रिन राखेर स्टेजे कार्यक्रम देखाइएको छ ।

 

कांग्रेस महाधिवेशमा भाग लिन आएका ७७ वटै जिल्लाका कार्यकर्तामा उत्साह देखिन्थ्यो । सबैका लागि महाधिवेशनमा खुला प्रवेश दिइएको थियो । गेट छेउमै स्वास्थ्य शिविर सञ्चालन गरिएको देखिन्थ्यो । महाधिवेशनमा भाग लिन आएका नेता, कार्यकर्तालाई त्यहाँबाटै मास्क वितरण गरिरहेकोे थियो । सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेको दृश्य देखिन्थ्यो । 


कार्यक्रम स्थलमा पार्टीका नेताको प्रचारप्रसार सामग्री फाट्टफुट्टबाहेक देखिएनन् । सभापति देउवाको फोटो महाधिवेशन स्थलमा प्रचार गरिएको छैन । अन्य प्रतिनिधिका भने एकाध फोटो राखिएका थिए ।


 भर्खरै महाधिवेशन सम्पन्न गरेको एमालेको महाधिवेशनमा जस्तो कुनै एक नेताको जयजयकार भएन । बरु सभापतिको भन्दा केही कार्यकर्ता युवा नेतालाई जिताऔँ भन्ने नारा लगाइरहेका थिए । महामन्त्रीका उम्मेदवार गगनकुमार थापालाई जिताउन कार्यकर्ता हुटिङ गरिरहेका थिए ।

 

कार्यकर्ताहरू महाधिवेशनले नयाँ नेतृत्व चुन्ने आसमा देखिन्थे । उनीहरू सभापतिमा शेरबहादुर देउवाको विकल्प छानिनेमा ढुक्क भने देखिएनन् । डोल्पाका तुलबहादुर बोहरा महाधिवेशन प्रतिनिधि भएर काठमाडौं आएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व आओस भन्ने चाहना रहेको उनले बताए । 

 

तर, पार्टीको अहिलेको समीकरण हेर्दा सभापतिमा नयाँ नेतृत्व आउनेमा भने उनको संशय छ । ‘महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने हो,’ उनले भने, ‘तर अहिले नयाँ नेतृत्व आउने देखिँदैन ।’

 

बाजुराका वीरेनाथ योगीले पनि महाधिवेशनमा नयाँ नेतृत्व छानिनुपर्ने बताए । ‘देशैभरबाट नयाँ नेतृत्व छानिएर आएको छ,’ उनले भने, ‘पार्टीको नेतृत्व गर्ने पदाधिकारी पनि नयाँ छनोट हुनुपर्छ । कार्यकर्तामा उत्साह छ ।’ 

 

महाधिवेशनमा सहभागी अधिकांश कार्यकर्ताले पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने र पुराना अभिभावक भएर बस्नुपर्ने बताए । तर, उनीहरूमा पार्टी समीकरणले पुरानै नेतृत्व दोहोरिने हो कि भन्ने संशय देखिन्थ्यो । 


महाधिवेशनमा छिमेकी भारतका विभिन्न पार्टीका नेता सहभागी थिए । अर्को उत्तरी छिमेकीले पठाएको शुभकामना पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा सुनाए । महाधिवेशनमा सहभागी सबैको ध्यानचाहिँ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीमा थियो । सुरुमा नेता महन्थ ठाकुर र उपेन्द्र यादव मञ्चमा बसे ।

 

उनीहरूको बसाइँ सँगै भए पनि पार्टी विभाजनको तिक्तता प्रस्टै देखिन्थ्यो । पछि क्रमैसँग अन्य दलका नेताहरू उपस्थित भए । महाधिवेशन स्थलमा अन्त्यमा मात्रै ओली उपस्थित भए । ओली, नेपाल, प्रचण्ड एउटै मञ्चमा बसेको देखेपछि कांग्रेस कार्यकर्ताले खासखुस गरेको देखिन्थ्यो । सभापति देउवाले स्व. नेता बीपी कोइरालाको तस्बीरमा माल्यार्पण गरेर महाधिवेशनको औपचारिक सुरुआत भएको घोषणा गरे । 

 

महाधिवेशनमा सहभागी नेता : कसले के भने

 

महाधिवेशनमा सहभागी हुन आएका सत्तारुढ भारतीय जनता पार्टीका नेता एवं पूर्वमन्त्री डा. हर्षवद्र्धनले कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिए । कांग्रेसको महाधिवेशनमा नेपालका सबै पार्टीका नेता उपस्थित हुनु आफ्ना लागि नौलो रहेको उनले सुनाए ।

 

विश्वमा यस्तो कतै पनि नदेखिएको उनको भनाइ थियो । केही दिन पहिले एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाइ दिए ।

 

कार्यक्रमको पहिलो वक्ता सीपी मैनालीले कांग्रेस प्रजातन्त्र र लोकतन्त्रका लागि इमानको पार्टी भए पनि राष्ट्रियताको सवालमा दरो हुन सुझाए ।  राजमो उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको शुभकामना दिँदै राष्ट्रियताप्रति कांग्रेस ढलमलिन नहुने बताइन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दल र तिनका नेताप्रति नागरिक स्तरमा आक्रोस रहेकाले सचेत हुन सुझाव दिए । उनले घरगाउँमा नेतालाई चोर भनिने प्रसंग सुनाउँदै जनताप्रति जिम्मेवार हुन आग्रह गरे ।


जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिए । अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याको समाधान गर्न आग्रह गरे ।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । ठाकुरले संविधानप्रति आफूहरूको असन्तुष्टि कायमै रहेको बताए । थरुहट–मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरले बताए ।


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताए । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेसका नेताहरूलाई सचेत गराए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौँ ।’

 

कार्यक्रमा एमाले अध्यक्ष ओलीले कांग्रेस महाधिवेशनको शुभकामना दिँदै कांग्रेसले अरूले देखाएको बाटोमा भन्दा आफ्नो बाटोमा हिँडोस् भन्ने कामना गरे । ओलीले भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरे ।