close

शर्मा प्रबल जनसेवाश्री (चतुर्थ) बाट सम्मानित 

शर्मा प्रबल जनसेवाश्री (चतुर्थ) बाट सम्मानित 

Trulli
ADVERTISEMENT

रुपन्देही -  बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा प्रबल जनसेवाश्री (चतुर्थ) बाट सम्मानित भएका छन् । उनलाई सरकारले संविधान दिवस अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरिएको हो ।  


प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उनी मुलुकका ७ सय ५३ पालिकामध्येबाट एक्ला हुन् । बुटवल उपमहानगरमा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शर्मा कुशल प्रशासकका रुपमा चिनिन्छन् ।


शर्माले ०४४ देखि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लेखापालका रुपमा सेवा प्रवेश गरेका थिए । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उनले धेरै जिल्लामा काम गर्दै आएका छन् । 


बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनुअघि उनी संघीय मन्त्रालयमा थिए । वातावरणमैत्री स्थानीय शासन प्रारुप तयार पार्ने कामको नेतृत्व शर्माले नै गरेका थिए । यो प्रारुप हाल मुलुकका पालिकाहरुमा कार्यान्वयनमा छ । 


शर्माले दिगो विकासबारे पनि गहिरोसँग अध्ययन गरेका छन् । उनले स्विट्जरल्यान्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा एक वर्षको कोर्ष पूरा गरेको बताए । 


‘यहीँ कोर्षको अध्ययनपछि दिगो विकासका लागि वातावरण संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका निम्ति वातावरणको महत्व विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भने, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा काम गर्न पाएको छु ।’


सम्मानले सेवा प्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको शर्मा बताउँछन् ।