close

मुगुमा र हुम्लामा पनि निषेधाज्ञा 

मुगुमा र हुम्लामा पनि निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्लामा मुगुमा बुधबार बाट निषेधाज्ञा जारी भएको छ । मुगुमा पनि कोरोना संक्रमणको त्रास बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको २१ वैशाखमा बसेको बैठकले बुधबार राती १२ बजेबाट लागू हुने गरी ३१ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

 

मुगुमा दिनप्रतिदिन कोरोना संक्रमितका बिरामी बढिरहेकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले बताएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले जारी गरेको निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक सवारी साधन, पसल तथा व्यवसाय र हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको छ ।

 

बिहान ९ देखि १२ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरेर कारोबार सञ्चालन गर्न निर्देशन जारी भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्दबहादुर शिवाकोटीले बताए ।

 
पछिल्लो १ सातामा सदरमुकाम गमगढी बजार एवं छायानाथ रारा नगरपालिकाभित्र १२ जना र खत्याड गाउँपालिकाभित्र ३ जना गरी मुगुमा १८ जना कोरोना संक्रमित भएका छन् ।  यीमध्ये २ बालबालिका, १ जना कांग्रेस जिल्ला सभापति, १ जना कांग्रेस जिल्ला पार्टी प्रवक्ता, १ जना स्वास्थ्यकर्मी र अन्य स्थानीय रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । 

 

संक्रमित देखिएकामध्ये केहीमा सामान्य लक्षण रहेकाले होम आइसोलेसनमा बस्न घर फर्काइएको छ भने २ जनालाई जिल्ला अस्पताल ठिनी र ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र रातोपानीमा उपचार भइरहेको जिल्ला अस्पताल ठिनी मुगुका सूचना अधिकारी पशुराम नेपालीले जानकारी दिए । 

 

मुगुको खत्याड गाउँपालिकाका ४ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउँमै संक्रमित भेटिएपछि पालिकाले एक गाउँबाट अर्काे गाउँ जान रोक लगाएको खत्याड गाउँपालिकाका स्वास्थ्यकर्मी हरिबहादुर बुढाले बताए । 

 

हुम्लामा पनि निषेधाज्ञा 


हुम्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबार राती १२ बजेदेखि २८ वैशाखसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । 

 

सोमबार नेपालगञ्जबाट आएका ८ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि यसको रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । 

 

पछिल्लो समय देशकै हट स्पटका रूपमा रहेको बाँकेको नेपालगञ्जबाट जिल्ला आउने २० प्रतिशत यात्रुमा संक्रमण पुष्टि भएपछि डिसिसिएमसीको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।  ‘जिल्लाबाहिर रहेका नागरिकलाई घर पुग्ने समय दिएर निषेधाज्ञा जारी गरेका हौँ’, उनले भने ।