close

मुगुमा लम्बियो निषेधाज्ञा

मुगुमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

मुगु– कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन मुगुमा १५ जेठसम्म निषेधाज्ञा थपिएको छ । पछिल्लो समय कोरोना संक्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामा मुगु प्रशासनले पुनः ८ दिनसम्म निषेधाज्ञा थपेको हो ।

 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार १५ जेठसम्म निषेधाज्ञा थपिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य,
शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसललगायत भने सञ्चालन हुनेछन् ।

 

कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप गर्नुपरेको मुगु प्रशासनले जनाएको छ । पछिल्लो समय मुगुमा दिन प्रतिदिन कोरोना संक्रमण फेला पर्न थालेका छन् । 

 

अहिले मुगुमा १६० जना कोरानाका संक्रमित फेला परेको जिल्ला अस्पताल ठिनी मुगुका सूचना अधिकारी पशुराम नेपालीले बताए । यीमध्ये ४३ जना निको भई घर फर्केका छन् ।

 

‘कोरोनाको फैलावट रोक्न थप ८ दिनसम्म निषेधाज्ञा थपेका हौँ’, जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले भने । निषेधज्ञा थपेसँगै प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई सडक अनुगमनमा निस्किएका छन् ।

 

मुगुम कार्मारोङले माग्यो स्वास्थ्य कर्मचारी 

 

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले विभिन्न पदमा रिक्त स्वास्थ्यकर्मीका लागि दरखास्ता आह्वान गरेको छ । गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बनाउन करारमा स्वास्थ्यकर्मीको भर्ना आह्वान गरेको हो ।
 

 

गाउँपालिका सञ्चालन गरेको १० शय्याको कोभिड अस्पताल र पालिकाका विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । 

 

उनका अनुसार पालिकाले रिक्त रहेका ६ वटा तहमा दरखास्तका लागि आह्वान गरेको छ । मेडिकल अधिकृत १, हेल्थ असिस्टेन्ट १, स्टाफ नर्स १, अहेब २, अनमी २ र ल्याब असिस्टेन्ट १ गरी ८ जनाका लागि करार सेवामा दरखास्त मागिएको हो ।

 

दरखास्त दिने अन्तिम मिति १० जेठसम्म रहेको पालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । गत वर्ष २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको भरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिए पनि मा पछि बन्द हुन पुगेको थियो ।