close

निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्न तोकियो समयसीमा

निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्न तोकियो समयसीमा

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न आह्वान गरेको छ । आउँदो २२ भदौमा मनाइने निजामती सेवा दिवस अवसरमा प्रदान हुने निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आह्वान गरेको हो ।

 

निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगहरूले मातहतका कार्यालयका सबै निजामती कर्मचारीको नाम समेटी उत्कृष्टताको आधारमा ३२ साउनभित्र निजामती कर्मचारीको नाम सिफारिस गरिसक्नुपर्ने हुन्छ ।

 

सरकारले निजामती कर्मचारी सेवा नियमावली, २०५० को नियम ११६ (क) को उपनियम (२) बमोजिमको समितिको सिफारिसमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

 

कर्मचारीको नाम सिफारिस गर्दा निजामती कर्मचारी सेवा नियमावली, २०५० को नियम ११६ (क) को उपनियम (३) तथा अनुसूची १७ (क) १ को व्यवस्थाअनुसार नाम सिफारिस गर्नुपर्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । 

 

मन्त्रालयले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्दा अपनाउनुपर्ने ढाँचासमेत पठाएको छ । यसमा कर्मचारीको नाम थर, सुरु नियुक्ति मिति र पद, हालको पदमा नियुक्ति मिति, हाल कार्यरत निकाय र अवधि, हालसम्म कुनै पुरस्कार, तक्मा वा प्रशंसापत्र पाएको भए छुट्टै पानासमेत राखेर सो विवरणसमेत उल्लेख गर्न सकिने मन्त्रालयले ढाँचा पठाएको छ । 

 

सिफारिसपत्रसँगै पछिल्ला ५ आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनको औषत अंक, कुनै उल्लेखनीय वा विशिष्ट काम गरेको भए परिमाण र प्रमाण (छुट्टै पाना राखेर सो विवरणसमेत उल्लेख गर्न सकिने), विगत ५ वर्षमा लिएको असाधारण बिदा र बेतलबी बिदाको विवरण र बिदा लिएको भए बिदापछि हाजिर भएको अवधिसमेत खुलाउने पर्नेछ ।

 

विभागीय सजाय पाए÷नपाएको र सिफारिस गरिएको कर्मचारीले कुन पुरस्कार (सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार) पाउनुपर्ने हो भनेर सोसमेत खुलाउनुपर्नेछ । 

 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि, उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि १० वर्ष वा सोभन्दा बढी र निजामती सेवा पुरस्कारका लागि ५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको हुनुपर्ने अनिवार्य मापदण्ड छ ।

 

सबै पुरस्कारका लागि पछिल्ला ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, सर्वोकृष्टका लागि पछिल्लो १५ वर्ष, उत्कृष्टका लागि पछिल्लो १० वर्ष र निजामती सेवा पुरस्कारका लागि पछिल्लो ५ वर्षमा कुनै विभागीय सजाय नपाएको, निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरणसमेत पेस नगरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा २ वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष एवं त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, प्रचलित कानुनबमोजिम बझबुझारथ नगरेको र व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको प्रशासनिक बेरुजु नदेखिएको हुनपर्ने मापदण्ड छन् । 

 

निजामती सेवा दिवसका लागि मागियो नारा

 

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवस, २०७८ का लागि उपयुक्त नारा तय गरी पठाउन इच्छुक सबैमा आह्वान गरेको छ । 
मन्त्रालयले २६ साउनभित्र निजामती सेवा दिवस, २०७८ को नारा तय गरी पठाउन आह्वान गरेको हो ।

 

इच्छुक व्यक्तिबाट नारा संकलन गर्ने प्रयोजनका लागि मन्त्रालयको कर्मचारी कल्याण शाखाको इमेल ठेगाना प्रयोगमा ल्याइएको समेत मन्त्रालयले जनाएको छ । 

 

 

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमका लागि खुल्यो छात्रवृत्ति

 

सरकारले बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमअन्तर्गत छात्रवृत्ति आह्वान गरेको छ । विपन्न समुदायका जेहेनदार बालबालिकालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत आवासीय रूपमा निःशुल्क रूपमा अध्ययन गर्न छात्रवृत्ति आह्वान गरेको हो ।

 

छात्रवृत्ति छनोटका लागि परीक्षा ३० साउनमा हुनेछ । कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा २०६८ मा जन्म भई कम्तीमा २ बर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ पूरा गरेका छात्रछात्रामध्ये बिभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदायको प्रतिनिधित्व हुने गरी खुला प्रतियोगितात्मक परीक्षाबाट विद्यार्थी छनोट गरिने भएको छ । 

 

गत वर्ष कोभिड–१९ का कारण छात्रवृत्ति परीक्षा हुन नसकेकाले कक्षा ६ देखि अध्ययनका लागि विक्रम संवत् २०६६ वा २०६७ मा जन्म भई कम्तीमा ३ वर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरेका शैक्षिक सत्र २०७७ मा कक्षा ५ मा अध्ययन गरेका छात्र÷छात्रामध्येबाट खुला प्रतियोगितात्मक परीक्षाबाट विद्यार्थी छनोट गरिनेसमेत शिक्षा मन्त्रालयले जनाएको छ ।

 

दरखास्त फारम रीतपूर्वक भरेर त्यहाँ तोकिएबमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुअगावै बुझाउनुपर्नेछ । 

 

परीक्षा लिखित हुनेसमेत सरकारले जनाएको छ । कक्षा ५ का लागि कक्षा ३ र ४ को नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तु र ६० प्रतिशत विषयगत) तथा कक्षा ६ का लागि कक्षा ४ र ५ को नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तु र ६० प्रतिशत विषयगत) पाठ्यक्रम निर्धारण गरिएको छ ।

 

इलाम, विराटनगर, धनकुटा (हिले), गाईघाट उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट (सिन्धुली), दोलालघाट, काठमाडौंमा बूढानीलकण्ठ स्कुल, हेटौंडा, गोर्खा, बेँसीसहर, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, चौजहारी, जुम्ला, अत्तरिया र डडेल्धुरामा परीक्षा केन्द्र तोकिएको छ । कक्षा ५ र ६ को खुला तथा आरक्षण सिटका लागि कुल सिटमध्ये ५० प्रतिशत छात्रा रहने भएका छन् ।

 

बूढानीलकण्ठका निमित्त २० खुला, २० आरक्षण तथा २ लोपोन्मुख जातिका लागि आरक्षण कोटा निर्धारण गरिएको छ । यस्तै, दलित र मधेसी ४–४, मुस्लिम १, आदिवासी/जनजाति ५ र पिछडिएको क्षेत्र र द्वन्द्वपीडितलाई २–२ जनाको कोटा निर्धारण गरिएको छ ।

 

साझेदारी कार्यक्रमअन्तर्गतका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी छनोट गरिनेसमेत सरकारले जनाएको छ । 

 

१ सय रुपैयाँमा पाइने दरखास्त फारमका साथ रीतपूर्वक भरी दस्तखत गरी प्रमाणित गरिएको आवेदन फारम, विपन्नताको कारणसमेत खुलाई सम्बन्धित वडा कार्यालय वा स्थानीय तहले छात्रवृत्तिका लागि प्रदान गरेको सिफारिस–पत्र, स्थानीय पञ्जिकाधिकारीले प्रदान गरेको विद्यार्थी जन्म–दर्ता प्रमाणपत्रको प्रतिलिपि, कक्षा ५ का लागि कक्षा ४ र कक्षा ६ का लागि कक्षा ५ उत्तीर्ण गरेको प्रमाणपत्र, विद्यार्थीको बाबुआमा दुवै नेपाली भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र यदि बाबुआमाबाहेक अन्य व्यक्ति संरक्षक भए आधिकारिक निकायबाट विद्यार्थीसँगको नाता खुलाइएको प्रमाणपत्र र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।

 

यस्तै, आरक्षित स्थानमा उम्मेदवार हुन चाहेको व्यक्तिले आफ्नो थर नेपाल सरकारले सार्वजनिक गरेको सूचीमा पर्ने भए सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित आधिकारिक निकायको सिफारिस–पत्रसमेत पेस गर्नुपर्ने हुन्छ ।

 

द्वन्द्व पीडितका हकमा बाबुआमा द्वन्द्व पीडित भएको प्रमाण खुल्ने आधिकारिक निकायबाट जारी भएको प्रमाणपत्र, पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले सम्वन्धित वडा कार्यालय वा स्थानीय तहबाट हालसम्म सोही स्थानमा स्थायी बसोबास रहेको खुलाइएको सिफारिस–पत्र र हालसालै खिचेको दुवै कान स्पष्ट देखिने पासपोर्ट साइजको २ प्रति फोटोसमेत संलग्न रहनुपर्ने हुन्छ ।