close

त्रिवेणीका नगरप्रमुखको ठाडो आदेशमा हटाइए ३ कर्मचारी र २ शिक्षक 

त्रिवेणीका नगरप्रमुखको ठाडो आदेशमा हटाइए ३ कर्मचारी र २ शिक्षक 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकामा कार्यरत ३ कर्मचारी र २ शिक्षकलाई हटाइएको छ । इन्जिनियर लोकेन्द्रबहादुर साउद, वडा नम्बर २ का कर्मचारी नन्दबहादुर बुढा र देवराज जोशीलाई नगरप्रमुख रामसिंह रावलको आदेशमा निष्कासन गरिएको वडाध्यक्ष प्रेम थापाले बताए ।


त्यसैगरी २ शिक्षक पनि निष्कासनमा परेको वडाध्यक्ष थापाको भनाइ छ । शिक्षक पूर्णबहादुर ऐडी र रंगबहादुर नेपालीलाई हटाइएको हो । शिक्षकलाई विभेदपूर्ण पारिश्रमिक निर्धारण गरिएको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा विरोध गरेका कारण नगरप्रमुख रावलले उनीहरूलाई हटाएको वडाध्यक्ष थापाले जानकारी दिए ।


निष्कासित शिक्षक र अन्य शिक्षकको बराबर तह भए पनि अन्यलाई २१ हजार रुपैयाँ पारिश्रमिक दिइएकामा निष्कासित दुवै जनालाई ५ हजार ५ सय मात्रै पारिश्रमिक दिएपछि नगरपालिकाको विरोध गरेका थिए ।


आफैंले राखेका कर्मचारीले आफूमाथि नै अन्याय गर्न खोजेपछि निष्कासन गरेको नगरप्रमुख रावलले बताए । ‘शिक्षक तथा कर्मचारीले मेरो निर्देशन नमानेको र नगरपालिकाको हितविपरीत गतिविधिमा सक्रिय हुन थालेपछि निष्कासन गरेको हुँ’, उनले भने ।  नगरप्रमुखले सोमबार बोलाएको कार्यपालिका बैठक १० जना जनप्रतिनिधिले वहिष्कार गरेका छन् ।


नगरप्रमुख रावलले एकलौटी बजेट विनियोजन गरेको विषयमा छलफल गर्दा नमानेपछि १० जना जनप्रतिनिधिले वहिष्कार गरेको वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता प्रेम थापाले जानकारी दिए । ६ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यले पनि बैठक वहिष्कार गरेको उनले बताए ।