close

किमाथांकामा बीओपी भवन शिलान्यास

किमाथांकामा बीओपी भवन शिलान्यास

Trulli
ADVERTISEMENT

संखुवासभा - खुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) भवनको शिलान्यास भएको छ । बधुबार किमाथांका नाकामा बीओपी भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गरेका हुन् । 


चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका– १ किमाथांका नाकामा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण हुन लागेको हो । छ करोड ६८ लाख २६ हजार रुपैयाँको लागतमा सीमा सुरक्षा पोस्टको भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीको अरुण गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक विशाल सिलवालले बताए । 


सीमा अतिक्रमण बढेपछि गृह मन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा नौ महिनाअघि नै बीओपी स्थापना गरिएको थियो । बीओपी किमाथांकामा प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोेली रहेको छ । 


सुरक्षा पोस्टको आफ्नै भवन नहुँदा साँघुरो भाडाको घरमा सुरक्षाकर्मीहरू बसिरहेका छन् । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टमा आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै पु¥याइएको थियो । 


किमाथांका नाकामा सीमा सुरक्षा पोस्ट भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लसहितका सुरक्षा निकायका प्रमुखहरू किमाथांका पुगेका थिए । 


उत्तरी क्षेत्रको सीमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीय खुसी भएका छन् । 


शसस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न वहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ । सुरक्षा पोस्टको भवन बनेपछि भन्सार कार्यालय स्थापना गरी नाका सञ्चालनमा सहजता ल्याउनुपर्ने उनीहरूको माग रहेको छ ।