close

कटारीमा पहाडी भेगका वडा समेटेर छुट्टै पालिका बनाउन माग 

कटारीमा पहाडी भेगका वडा समेटेर छुट्टै पालिका बनाउन माग 

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)– उदयपुरको कटारी नगरपालिकामा समेटिएका माथिल्लो पहाडी भेगका ५ वटा वडालाई समेटेर छुट्टै स्थानीय तह गाउँपालिका बनाउन माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । १४ वटा वडा रहेको नगरपालिकाका वडा नम्बर ९, १०, ११, १३ र १४ नम्बर वडालाई समेटेर छुट्टै गाउँपालिका बनाउने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

 

गाउँपालिका माग सहजीकरण समितिका संयोजक अम्बरबहादुर मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्र नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई बुझाइएको हो । ज्ञापनपत्र बुझाउन उक्त वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवाला नगरपालिका पुगेका थिए ।

 

नगरभित्रको नगरबाट वितरण गरिने सेवा–सुविधा भौगोलिक विकटता, स्थायी पूर्वाधार अभाव, दूरीका हिसाबले नगरबाट सेवा लिन समस्या रहेकाले छुट्टै स्थानीय तह गाउँपालिकाका आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

 

५६ हजार १ सय ४६ जनसंख्याको नगरपालिकाका ती वडामा मात्रै १८ हजार ५ सय ६६ जनसंख्या रहेकाले नगरपालिकालाई नगर रहन कुनै असर नपुग्ने अवस्थामा छुट्टै पालिकाको माग गरिएको ज्ञापनपत्रमा भनिएको छ ।

 

गाउँपालिकाको मापदण्डको आधारमा भूगोल, जनसंख्या र भौतिक पूर्वाधार पुग्ने भएकाले संविधानको धारा २९५ को विभिन्न दफामा उल्लिखित व्यवस्थाअनुसार पालिका निर्माण गर्न सकिने अवस्था भएकाले छुट्टै गाउँपालिका माग गरिएको संयोजक मगगरले बताए ।

 

गाउँपालिका निर्माणका लागि नगरसभाले सर्वसम्मत निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गरिदिन आग्रह गर्दैै आवश्यक कागजातसहित ज्ञापनपत्र बुझाइएको समितिले जनाएको छ ।

 

ज्ञापनपत्र बुभ्mदै नगरपालिका प्रमुख श्रेष्ठले नगरमा माथिल्लो भेगका वडालाई रहेको समस्या भएकाले छुट्टै पालिका निर्माणको ऐक्यबद्धता बताए । ‘कार्यपालिकाको बैठकमा यो विषय पेस गर्छु’, नगरप्रमुख श्रेष्ठले भने, ‘बैठकमा जनप्रतिनिधिबाट यो विषय सर्वसम्मत पास गर्न छलफल राख्छु ।’ 

 

जिल्ला समन्वय, प्रदेश र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माणका लागि डेलिगेसन जाने प्रतिबद्धतासमेत नगरप्रमुख श्रेष्ठले जनाए ।सहजीकरण समितिका संयोजक मगरले माथिल्ला वडाहरूका जनप्रनिधिदेखि स्थानीयसम्मले छुट्टै गाउँपालिका निर्माणका लागि यसअघि नै प्रक्रिया थाले पनि निषेधाज्ञाका कारण समस्या भएपछि अहिले ज्ञापनपत्र बुझाइएको बताए ।

 

नगरबासी हुँदा गर्व भए पनि भौगोलिक कारणले जहिले पनि समस्या भोग्नुपर्दा छुट्टै गाउँपालिका आवश्यक रहेको उनको भनाइ छ । ‘नगरपालिकाले चाहँदाचाहँदै पनि भौगोलिक विकटता कारण समस्या छ,’ उनले भने, ‘त्यसकारण जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला र स्थानीयले छुट्टै गाउँपालिका माग गरेका हौँ ।

 

उक्त वडाहरूलाई छुट्टै गाउँपालिका निर्माणका लागि राज्य पुनर्संरचनाको समय पनि आन्दोलन गरेको स्मरण गराउँदै वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले छुट्टै गाउँपालिका आवश्यक परेको बताए ।

 

विगतमा पनि आन्दोलनको नेतृत्व गरेका वडाध्यक्ष क्षेत्री त्यतिबेला वडाको संरचना निर्माणमा सहमति जनाए पनि व्यावहारिक रूपमा छुट्टै गाउँपालिका आवश्यक देखिएपछि यस्तो माग गरिएको जानकारी दिए ।