close

जनकपुरमा छठ पर्वको उल्लास

जनकपुरमा छठ पर्वको उल्लास

Trulli
ADVERTISEMENT

धनुषा - धनुषाको जनकपुरधाममा धार्मिक एवं लोकास्थाको पर्व छठको तयारी धुमधामसहित सुरु भएको छ । जनकपुरधाम उपमहानगरका प्रमुख पोखरी र घाटहरूलाई शृंगारेर पूजाको तयारी गरिँदै छ । त्यसका लागि नगरभित्रका पोखरी सफाइदेखि पूजा स्थल निर्माण धमाधम भइरहेको छ ।

 

पोखरी नै पोखरी सहरको रुपमा परिचित जनकपुरका प्रमुख पोखरीमा छठ पूजाकै टेन्ट र पण्डाल लगाइँदै छ । नेपालमै जनकपुरको छठ पूजा चर्चित मानिन्छ । आउँदो शुक्रबार सुरु हुने छठ पर्वका लागि जनकरपुका जनप्रतिनिधिले स्वास्थ्य सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाएका छन्  ।

 

कोरोना कहर जारी रहे पनि स्वास्थ्य सावधानी अपनाएर यस पटक गंगासागरमा पूजा आयोजन हुने जनकपुर- ३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए । ‘स्थानीय प्रशासनको आग्रह र ब्रतालुको आस्था दुवैलाई ध्यानमा राखेर छठ पर्व व्यवस्थापन गर्न स्थानीय पूजा समितिलाई आग्रह गरिएको छ’, उनले भने ।

 

जनकपुरका प्रमुख पोखरीमध्ये गंगासागरमा छठ पर्व मनाउनेको भीड सबैभन्दा बाक्लो हुने गरेको छ । प्रत्येक वर्ष गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा कमिटीले छठ पूजाका लागि व्यस्थापन गर्दै आएका छन् ।

 

यस पटक गंगासागरमा पूजा गर्न जाँदा परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेश व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका संयोजन सोनु निधिले जानकारी दिए ।

 

प्रमुख पाँच पोखरी गंगासागर, धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन् । धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन् ।

 

स्थानीय प्रशासनले छठ पूजा गर्दा सावधानी अपनाएर, सामाजिक दूरी कायम गरेर पोखरी र पानीमा प्रवेश नगरी पर्व मनाउन विज्ञप्ति नै जारी गरेको छ । स्थानीय प्रशासनको आग्रहअनुरुप तयारी अगाडि बढाइएको गंगासागर छठ पूजा समितिले बताएको छ ।

 

भगवान सूर्यको पूजाराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथिदेखि सुरु हुने गर्छ । निष्ठा एवं पवित्र रुपमा पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थीको दिन बुधबार स्नान गरी अरुवा खाने गर्छन् ।

 

पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझको समय नयाँ माटोको चुल्होमा खिर पकाउँछन् । त्यसपछि घरका देवीदेवताको पूजामा चढाइएको खिर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गरेर खाने चलन छ ।

 

षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् पर्व सम्पन्न हुन्छ ।