close

१९ वर्ष भयो, न सास आयो न लास

१९ वर्ष भयो, न सास आयो न लास

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–  २० फागुन, २०५८ को मध्यदिन । तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध ताप्लेजुङ मैवाखोला गाउँपालिका– १ (साविक ढुङ्गेसाँघु गाविस २) का १८ वर्षीय भूपेन्द्र भट्टराई पाँचथरको सिङ्गापुर बजारमा घरायसी सामान किनमेल गर्दै थिए ।


उनलाइ अखिल क्रान्तिकारी तत्कालीन सशस्त्र बिद्रोही समूह र सरकारद्धारा प्रतिवन्धित पार्टीको भातृ संगठन हो भन्ने पनि थाहा थिएन । त्यसैले उनी खुलमखुल्ला गाउँबस्ती हिड्ने–डुल्ने गर्थे ।


सिङ्गापुर बजारबाट तमोर नदी पार गरेपछि ताप्लेजुङको निघुरादिन–फुलवारी हुँदै घर ढुङ्गेसाँघु फर्कने योजना थियो उनको । अचानक सेनाको टोली गस्तीका क्रममा सिंङ्गापुर बजार पुगेर पूरै बजार घेरा हाल्यो ।


त्यतिञ्जेलसम्म पनि सेनाले आफुलाई लक्षित गरेको भूपेन्द्रले थाहै पाएनन् । जब सेनाको लक्ष्य आफू माथि हो भन्ने भूपेन्द्रले थाहा पाए, घरजाने बाटोतर्फ नै दौडिए । सेनाले लखेट्यो ।


त्यसपछि उनी कहाँ गए अहिलेसम्म पत्तो छैन ।


भूपेन्द्रका भाइ नवराज दाजुलाइ सेनाले खेद्दै लैजादाँ तमोर नदीमा परेको हुनसक्ने अनुमान बाहेक अहिलेसम्म लास न सासको अवस्थामा रहेको बताउँछन् ।


भूपेन्द्र तमोर नदीमै परेर बेपत्ता भएको प्रमाण चाँहि अहिले सम्म छैन  । ‘हाम्रो सामान्य अनुमान मात्रै हो, तमोर नदी त ! ’ नवराजले भने । घरका लागि चाहिने दैनिक उपभोग्य बस्तु खरिद गर्न गएको दाजु अहिलेसम्म नफर्किएको पीडा नवराजको परिवारमा अझै आलै छ ।

 

‘ऊ बेला फोन थिएन, दाजु आउनुहोला र नुन–तेलको गर्जो टारौंला भनेर बसेको हाम्रो परिवार अहिलेसम्म दाजुकै पर्खाइमा छ’, नवराजले भने । दाजुलाइ सिङ्गापुर बजारबाट तमोरतर्फ खेद्दै गरेको खबर नवराजका परिवारमा भोलिपल्ट मात्रै पुग्यो ।


तर खोजीका लागि सिङ्गापुरतर्फ आउने आँट कसैलाइ भएन । तत्कालीन विद्रोही शक्ति भनेर फेरि सेनाको निसानामा परिने डरले घटनाको तीन दिनपछि मात्र भूपेन्द्रको खोजीमा उनका परिवारका सदस्य सिङ्गापुर र तमोर नदी आसपास आयो ।


‘सम्भावित स्थलमा धेरै पटक खोजे परिवारका सदस्यले तर भूपेन्द्रको पत्तो लागेन । ‘कम्तिमा लास भएको भए हामी संस्कार अनुसार कर्म त गथ्र्यौं’, १९ वर्षसम्म लास न सासको अवस्थामा पुगेका भूपेन्द्रका जेठा दाजु लिलाराज खुःखी हुँदै भन्छन् ।

 

अहिले जस्तो त्यतिबेला बजार–पसल थिएनन् । तमोर पारी ताप्लेजुङको बस्तीका नागरिकको नजिक र पहुँचको बजार भनेको सिङ्गापुर नै थियो । पाँचथरको हिलिहाङ गाउँपालिकामा पर्ने सानो तर झुरुप्प बस्ती भएको सिङ्गापुर अहिले पनि पहाडी बस्तीहरुमा दैनिक उपभोग्य बस्तु निर्यात महत्वपूर्ण केन्द्रमै पर्छ ।


अधिकारकर्मी चन्द्रप्रकाश भट्टराई द्धन्दकालमा तत्कालीन बिद्रोही माओवादी र तत्कालीन शाही नेपाली सेनासहितको समूहबाट बेपत्ता पारिएकाको स्पष्ट तथ्याङ् नआउँदा सम्म संक्रमणकालीन न्याय सम्भव नहुने बताउँछन् ।


‘भूपेन्द्रजीको परिवारमा भएको जस्तो समस्या अरुमा पनि होला, कोही तत्कालीन सशस्त्र बिद्रोहीबाट भएको होला, कोही तत्कालीन शाही नेपाली सेनाबाट’, भट्टराईले भने ।


लास र सासमध्ये एक मागिरहेका परिवारलाई त्यो दिन नआउँदा १९ वर्षदेखि सास्ती छ । बेपत्ता भएको पाँच वर्षपछि तत्कालीन बिद्रोही माआवादी र सरकारबीच बिस्तृत शान्ति सम्झौता भयो ।


‘६ महिनाभित्र सबै बेपत्ताको खोजी गरी यथार्थ विवरण सार्वजनिक गरिने सहमति भएको पनि १४ वर्ष बितेछ तर न हाम दाइको सास को पत्ता लाग्यो न लास नै पाइयो, १९ वर्षदेखि द्धन्द्धको एउटा नमिठो घाउ बोकेर बाँचेका छौं,’ भट्टराई दुखी हुँदै भन्छन् ।


बिस्तृत शान्ति सम्झौता भएको १४ वर्षसम्म पनि पीडित परिवार अझै न्यायकै लागि दौडिइरहनु पर्ने अवस्था अन्त्य नभए सम्म संक्रमणकाल नटुंगिने अधिकारकर्मी भट्टराईको भनाइ छ ।