close

शिक्षिकाको तलब झ्वाम पार्ने प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

शिक्षिकाको तलब झ्वाम पार्ने प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा–३ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मानसिंह विष्ट र विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगवीर रोकाया पक्राउ परेका छन् ।

 

बूढीनन्दा नगरपालिका वडा–३ को कालिका आधारभूत विद्यालयमा पढाउने एक शिक्षिकाले तीन वर्षदेखि तलब नपाएको गुनासो गरेकी थिइन् ।

 

उनको गुनासोपछि छानबिन हुँदा सरकारी कागजात नष्ट गरेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । दुवै जनालाई पक्राउ गरी सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

 

‘शिक्षिका सीता तिमिल्सेनाको तलब नदिनुका साथै विद्यालयमा रहेका सरकारी कागजात नष्ट गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेका हौं । छानबिनपछि सही ठहरिए कानुनबमोजिम कारबाही अगाडि बढाउँछौं’, प्रहरी नायव उपरीक्षक महराले भने । शिक्षिका तिमिल्सेनाले २०७५ देखि हालसम्म तलब नपाएको बताएकी छन् ।
 

तर, शिक्षिका तिमिल्सेनालाई भने प्रहरी कार्यालयमा बोलाइएको छैन । पीडक र पीडित दुवै पक्षलाई सँगै राखेर घटनाबारे थप छलफल गर्नुपर्नेमा प्रहरीलाई आफूहरूलाई मात्र तारो बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकायाले बताए ।

 

‘शिक्षिका तिमिल्सेनालाई सँगै राखेर दुवै पक्षको बयान लिनुपर्छ । एकलौटी गर्न खोजियो । यो न्यायोचित होइन’, रोकायाले भने, ‘शिक्षिकालाई तलब वृद्धि गर्ने मौखिम कुरा भएको र नियुक्ति पत्र भने दिइएको होइन ।’

 

शिक्षिका तिमिल्सेनालाई विद्यालयले निजी स्रोतमा राखेको रोकायाले बताए । तिमिल्सेना विद्यालयमा नियमित हाजिर नहुँदा बालबालिकाको पढाइमा असर परेको दाबी उनले गरे । ‘विद्यालयमा हाजिर हुन ताकेता गरे पनि गत माघदेखि बिरामीको बहानामा काठमाडौंमै बसेर तलब मागेकाले नदिइएको हो’, विद्यालयका प्रधानाध्यापक विष्टले भने ।

 

शिक्षिकाले पाउने तलबबारे विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकलगायत सबैसँग छलफल भइसकेकाले हाजिर भएको दिनअनुसार हिसाब गरेर उपलब्ध गराइने उनले जानकारी दिए ।