close

आदिवासी जनजाति संग्रहालय भवन दस वर्षदेखि अलपत्र (भिडियो खबर)

आदिवासी जनजाति संग्रहालय भवन दस वर्षदेखि अलपत्र (भिडियो खबर)

ADVERTISEMENT

बाग्लुङ- बाग्लुङमा दस वर्षदेखि निर्माण थालिएको आदिवासी जनजाति संग्रहालय भवन समयमै पूरा नहुँदा अलपत्र अवस्थामा पुगेको छ । एक तलाको ढलान गरेपछि अलपत्र छाडिएको संग्रहालयको भवन अहिले जीर्ण बनिसकेको छ ।

 

तामझामका साथ शिलान्यास गरिएको जनजाति संग्रहालयको पहिलो तलाको ढलान गरेको पनि ८ वर्ष पुगेको छ । तर, त्यसपछि माथि उठाउन कसैले चासो राखेका छैनन् । बाग्लुङ नगरपालिका वडा नम्बर १ रामरेखामा २०६७ साल असारमा यो भवन शिलान्यास गरिएको थियो ।

 

नेपाल आदिवासी जनजाति समन्वय समिति बाग्लुङको अगुवाइमा तत्कालीन जिविसबाट रकम विनियोजन गरेर निर्माण थालिएको योजना अलपत्र परेको हो ।

 

निर्माणाधीन भवनको एक तला ढलान गरेपछि अन्य काम नगर्दा जीर्ण अवस्थामा पुगेको स्थानीय अगुवा दुर्गाबहादुर आचार्यले बताए । ‘अलपत्र संग्रहालय भवन वरिपरि झारपात उम्रिएको छ भने बटुवाको आश्रय स्थल बनेको छ’, आचार्यले भने ।

 

नियमित बजेट अभाव र जिम्मा लिने समिति नभएपछि भवन अलपत्र परेको हो । २०६७/६८ सालमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ठड्याइएको थियो । बजेट आउन छाडेपछि जीर्ण भएको समितिका तत्कालीन उपाध्यक्ष ओमकार थापाले बताए ।

 

‘जिविस, जनजातिहरूका संगठन र रामरेखा सामुदायिक वनले त्रिपक्षीय लगानी गर्ने, त्यसको प्रतिफल पनि त्रिपक्षीय नै लिने भन्ने थियो’, थापाले भने, ‘कसैले पनि लगानीको चासो राखेनन् ।’ अहिले निर्माण समिति नै नभएपछि लगानीसमेत ल्याउन नसकिएको उनले बताए ।

 

तत्कालीन जिविसको अधिकार क्षेत्र कटौती भएपछि यो भवनका लागि बजेट आउने बाटो बन्द भएको जनजाति अगुवा सुनाउँछन् । जनप्रतिनिधि नभएका बेला सरकारले जनजाति समन्वय समिति गठन गर्ने प्रावधान थियो । सोही समितिमार्फत बजेट विनियोजनमा पहल हुने गरेको थियो ।

 

सर्वदलीय सहमतिको आधारमा विनियोजन हुने बजेटले यहा“का अन्य धेरै पूर्वाधारमा पनि लगानी गरिएको थियो । जनप्रतिनिधि आएपछि यस्तो समिति भंग भयो ।सबै वडामा जनप्रतिनिधि छन् । उनीहरूले स्थानीय आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने र अलपत्र रहेका काम पूरा गर्नुपर्ने आदिवासी जनजाति जिल्ला परिषद्का पूर्वअध्यक्ष तेजेन्द्र थापा बताउँछन् ।


बाग्लुङ कालिका मन्दिर र संसारकै लामो झोलुंगे पुलको छेवैमा यो भवन निर्माणाधीन छ । संग्रहालय सञ्चालनमा ल्याउन सके पर्यटन प्रवद्र्धन हुन सक्ने स्थानीय सुनाउँछन् ।

 

‘लथालिंग संग्रहालय निर्माण गरेर हरेक प्रकृतिका आकर्षण दिन सके यहाँ आउने पर्यटक बढ्न सक्छन्,’ बाग्लुङ पर्यटन समिति अध्यक्ष राजु खड्काले भने, ‘थालेको काम पूरा नगर्ने प्रवृत्तिले पर्यटकीय क्षेत्र पनि कुरूप बन्ने रहेछ ।’ नगरपालिकाले पनि लगानी गरेर संग्रहालय निर्माणलाई पूर्णता दिनुपर्ने उनको माग छ । जनप्रतिनिधि आएपछि पुराना समिति निस्क्रिय भएका छन् । उनीहरूले अधिकारका लागि उठाउने बहससमेत गर्न छाडेको थापाले बताए । 


‘अहिले त अधिकारका लागि छलफल पनि हुन छाडे । अलपत्र कामबारे चासो पनि छैन’, उनले भने, ‘स्थानीय सरकारले आफ्नो क्षेत्रका सबै अलपत्र पूर्वाधार निर्माणमा लगानी र चासो राख्नुपर्ने हो तर कार्यकर्ताको चाहनाअनुसारका बजेट मात्रै विनियोजन भइरहेका छन् ।’ 


यो भवनमा तत्कालीन जिविसबाट २५ लाख रुपैयाँ लगानी भएको थियो । भवन निर्माणका लागि रामरेखा सामुदायिक वनले जग्गा उपलब्ध गराएको थियो ।

 

कम्तीमा तीन तलाको भवन बनाएर आदिवासी जनजातिको कला, संस्कृति झल्कने पोसाक राख्ने, चाडपर्वबारेका लेखरचना संग्रह गर्ने, जनजातिले प्रयोग गर्ने औजारको संग्रह गर्ने तथा सभाहलसमेत बनाउने लक्ष्य राखिएकामा अहिले सबै अलपत्रै छाडिएको अगुवाहरू बताउँछन् ।

 

हरेक वर्ष आदिवासी जनजाति दिवस मनाउने तथा मगर दिवस अवसरमा नजिकैको पार्कमा मेला र प्रवचन कार्यक्रम गरिँदै आएको छ । तर, जीर्ण भवनप्रति चासो कम भएको अर्का जनजाति अगुवा भविकला रोकाको अनुभव छ ।

 

‘जिम्मेवारी लिने कोही भए मात्र लगानी र काम गर्न सकिन्छ’, रोकाले भनिन्, ‘पर्यटकीय दृष्टिले महत्त्वको भएकाले प्रदेश मन्त्रालयको लगानीबाट पनि पूरा गर्न पहल गर्नुपर्छ ।’ जनजातिमा सूचीकृतमध्ये बाग्लुङमा मगर, नेवार र छन्त्याल बढी छन् ।