बाँसले जुटाएको गास (भिडियाेसहित)


  • change font
  • change font
  • change font

गुल्मी- अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषका ७८ वर्षीय भोटबहादुर विक ६० वर्षदेखि गाउँमा डोको बुनिरहेका छन् । गाला चाउरिए । हत्केला फाटे तर काम फटाले दैनिकी गुजारा चल्न नसक्ने अवस्था छ ।

 

सोही ठाउँका ७९ वर्षीय डिलबहादुर विकले पनि २० वर्षदेखि गाउँमा बाँसको काम गर्न थालेका हुन् । तन्नेरी छँदा गाउँमा हलो र ढुंगाको काम पनि गरे । डोको, मान्द्रा, भकारी र डाला बोकेर ३/४ जिल्लासमेत चहारे । सजिलै परिवार पाल्न सकेनन् । १०/१२ वर्ष भारत पुगेर काम गरे । 


मुग्लान सोचेजस्तो नभएपछि फेरि गाउँ फर्किए । बुढेसकालमा पाखुरीमा बल घट्दै गएपछि पुर्ख्याैली पेसा नै अँगाले । अहिले त्यही पेसाले बिहान-बेलुकाको रोजीरोटी चलाएका छन् । 

 

गाउँमा डोको र मान्द्रा बुन्नेमध्येका ३५ वर्षीय चिरञ्जीवी विक यो काम छाडेर साउदी र कतार पनि हान्निए । तर, विदेशमा भनेजस्तो काम नपाएपछि गाउँ फर्किएर पुर्ख्याैली पेसा गरिरहेका छन् ।


अहिले दैनिक डोको र मान्द्रोको काम गर्छन् । उत्पादित सामग्री घरबाटै बिक्री हुन्छन् । गाउँगाउँमा पुग्नुपर्ने भएकाले पेसाप्रति इज्जत नपाइएको उनीहरूको गुनासो छ । उत्पादित सामग्रीको माग गाउँमा उत्तिकै छ । तर, यो पेसा भने अधिकांश पुरानो पुस्तामा छ । नयाँ पुस्तामा पुर्ख्याैली पेसाप्रतिको आकर्षण घट्दो छ ।


डोको र मान्द्रा मात्रै बुनेर समयअनुसार परिवार नचलेपछि पेसा परिवर्तन गर्ने गाउँमा थुप्रै छन् । यो पेसा राम्रो काम र विदेश जाने नसक्नेहरूका लागि भने गाउँमा गतिलो माध्यम हो ।

 

बाँसबाट डोको र मान्द्राबाहेक पछिल्लो पुस्ताअनुसारका थुप्रै सामग्री उत्पादन गर्न सकिन्छ । यो पेसा बाउबाजेबाट पुस्तान्तरण भएको हो । उनीहरू कसैले छुट्टै प्रविधिको तालिम वा प्रशिक्षण पाएका छैनन् । ‘बाजेहरूकै कोखमा बसेर सिकेका हौँ,’ विकले भने, ‘स्थानीय तहले नयाँ प्रविधि र तालिम दिए पेसा छाड्नु पर्दैनथ्यो ।’


दलित समुदायका आफ्नै समस्या छन् । पेसा पनि चपेटामा परेको छ । उनीहरू दैनिक धुले बाटोमा काम गर्छन् । चिसो र धुलो भुइँको विकल्प उनीहरूसँग छैन ।

 

गाडी आए, पानी परे र घाम चर्किए ठाउँ छाड्नुपर्ने बाध्यता विक समुदायमा छ । ओतमा काम गर्न पटक-पटक स्थानीय सरकारसँग भवनको माग गरे पनि सुनुवाइ नभएको कृष्णबहादुर विकको गुनासो छ ।

 
परम्परागत पेसा व्यवसायबाटै जीविकोपार्जन गरेका समुदाय स्थानीय स्तरमा थुप्रै छन् । बजारमा आएका वैकल्पिक सामग्रीका कारण ती सामग्री र पेसा ओझेल परेका छन् । परम्परागत पेसा समयसँगै परिस्कृत नहुँदा व्यवसाय नै बन्द गर्नुपर्ने र नयाँ पुस्तामा सार्न मुस्किल परिरहेको उनीहरू सुनाउँछन् ।

 

गाउँमा विगतमा पनि आरन सुधारका कार्यक्रम ल्याइए । अहिले सीपमूलक तालिमका लागि बजेट र योजना बनाइरहेको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शोभाखर पाण्डेयले बताए ।

 

अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ अर्घातोषका अधिकांश दलित परिवारको मुख्य पेसा बाँसका विभिन्न सामग्री उत्पादन गर्ने हो । अहिलेसम्म यही पु‍र्ख्याैली परम्परागत पेसाले परिवार धानेका छन् । 

 

आफ्नो पेसा व्यवसाय संरक्षण गर्न र समय सुहाउँदो परिस्कृत बनाउन राज्यले नै प्राविधिक ज्ञान र प्रविधि सहयोग गर्नुपर्ने उनीहरू बताउँछन् ।