close

विकासले पनि निम्त्याउँछ है झगडा, नपत्याए पातीहाल्ने जानू  

विकासले पनि निम्त्याउँछ है झगडा, नपत्याए पातीहाल्ने जानू  

Trulli
ADVERTISEMENT

बागलुङ– पूर्वी रुकुम र बागलुङको सिमानामा निर्माणाधीन संरचना रोकिएपछि बढेको विवाद समाधानका लागि २ जिल्लाका पदाधिकारीबीच छलफल भएको छ । छलफलले सीमा विवाद टुंगो लगाउने तयारी थालेको हो ।


मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि बागलुङ र रुकुम सिमानाको पातीहाल्ने नजिकै बन्न थालेका संरचना र सिमानाबारे विवाद उत्पन्न भएको थियो । 

 

केही समयदेखि बढेको विवाद समाधानका लागि संघीय सांसद कमला रोका, गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीसहित दुवै जिल्ला समन्वय प्रमुख र उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका अधिकृतहरू, बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष तथा रुकुमको भूमे गाउँपालिका अध्यक्षसमेतले छलफल गरेर चैतभित्र विवाद समाधानको अन्तिम प्रयास गरेका हुन् । 

 

भेलाले दुवै जिल्लाका सीमा जोडिएका पालिकाका अध्यक्ष, सिमानाका वडाध्यक्ष, नापी अधिकृतसमेत रहेको कार्यदल गठन गरेको छ । 

 

उक्त कार्यदलले एक महिनाभित्रै प्रतिवेदन बनाएर दुवैको साझा सहमतिको बिन्दु पहिल्याउने जिम्मा पाएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए । 


मध्यपहाडी लोकमार्गले २ जिल्लालाई जोडेपछि सिमानाको देउराली क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । त्यसैले त्यहाँ पछिल्लो समय व्यवसायका लागि धेरै संरचना निर्माण हुने क्रम बढेको छ ।


पहिला पाखो तथा जंगली क्षेत्र भएकाले चासो नभए पनि अहिले घरघडेरीको रूपमा बिक्री हुन थालेपछि सिमाना विवाद भएको हो । 


कार्यदललाई भूमे र निसीखोला गाउँपालिकाको समग्र वस्तुगत चित्र तयार गर्ने जिम्मा दिइएको छ । ‘साझा र समग्र विकास योजना निर्माण गर्ने र दुवै जिल्लाबासीलाई अपनत्व हुने बनाउन लगाइएको छ,’ ढुंगानाले भने, ‘पर्यटकीय क्षेत्रको विकासमा दुवै जिल्लाले संघीय सरकारसम्म योजना माग गरेर विकासका पूर्वाधार निर्माणमा साथ दिने भनिएको छ ।’ 


प्राविधिक रूपमा मान्य हुने बनाउन कार्यदलले दुवै पालिकका तर्फबाट १÷१ जना विज्ञ नियुक्त गर्नेछन् । विज्ञ र नापीका अधिकृतको अध्ययनले वास्तविक सिमाना पनि छुट्याउने । त्यसबाहेक पातीहाल्नेलाई पर्यटकीय महत्त्वको क्षेत्र बनाउन चाहिने योजना पनि निर्माण गरिनेछ । 


केही समयअघि यहाँ निर्माण भएका संरचना भत्काइएका थिए । सिमानामा परेकाले कुन जिल्ला वा पालिकाले हेर्ने, नक्सा पास कसले गर्नेजस्ता समस्या उत्पन्न भएका थिए ।

 

त्यसैले छिट्टै समस्याको समाधान गर्ने भनेर टोली गएर रुकुमको भूगोलमा छलफल भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । 

 

आगामी बैठक बागलुङको निसीखोलामा आयोजना गर्ने टुंगो लागेको छ । ‘यसअघि अलि चुनौतीजस्तो देखिएको समस्या अहिले भने सहज हुने अवस्थामा पुगेको छ,’ ढुंगानाले भने, ‘दुवै जिल्लाका सांसद र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तहबाट पनि छलफल गरिएकाले सहमतिको नजिक पुगेका हौँ ।’ 

 

अबको बैठकले सीमा विवाद अन्त्य गरेर सहज वातावरण बनाउने उनले दाबी गरे । वातावरण सहज भएपछि पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत सञ्चालन हुनेछन् । 


सीमा विवाद सल्टिए २ जिल्लाका बासिन्दाबीच घाँसदाउरा गर्ने बेलामा समेत विवाद हुने अवस्था हट्ने सहभागीले बताए । केही वर्षअघि यो क्षेत्रमा घाँसदाउरा गर्ने क्रममा झगडा हुने गरेको थियो । 

 

वास्तविक सीमाना पत्ता नलाग्दा भएको समस्या प्राविधिक रूपमै टुंगोमा लैजानुपर्ने प्रजिअ न्यौपानेले बताए ।