close

संक्रमितकाे लापर्बाहीले जुम्लामा यसरी बढ्यो काेराेना (भिडियो खबर)

संक्रमितकाे लापर्बाहीले जुम्लामा यसरी बढ्यो काेराेना (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशको विकट जिल्ला हो, जुम्ला । तर, कोरोना महामारीले विकट पनि छोडेन । विपद् मच्चाइहाल्यो । कोरोना संक्रमणको चपेटामा पुग्यो जुम्ला । कोरोना संक्रमित बढ्न पुगे । स्थानीय सरकारले त आफ्नो बलबुद्धिले भ्याएसम्म संक्रमण न्यूनिकरणका उपाय अपनाएका छन् । तर, संक्रमितले नै महामारीलाई खेलाँची सोच्दा अवस्था भयावह हुने थप भय पैदा भएको छ । यस्तै भएको छ, जुम्लाको तिला गाउँपालिकामा । संक्रमितका लागि भनेर आइसोलेसन बनाइएको छ । संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

 

बसेका पनि बेलाबखत बजार पुग्ने गर्दा स्थानीय तहलाई हरसम्भव प्रयास गर्दा पनि संक्रमण फैलने चिन्ताले भने सताइरहेको छ । जुम्लाको तिला गाउँपालिका अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भएको छ । संक्रमणलाई नियन्त्रण गर्नका लागि स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि परिचालन गरिएको छ । गाउँ गाउँमा कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने जनचेतना र परीक्षणको दायरा पनि बढाइएको छ ।

 

गाउँपालिकाको ३ नम्बर वडाको वडा कार्यालयमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउनुका साथै २५ शय्याको आइसोलेन कक्ष पनि निर्माण गरिएको छ । गाउँपालिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा कोरोना संक्रमण परीक्षण गर्ने काम गरेको छ ।  परीक्षणबाट संक्रमण पुष्टि भएका ११ जना मध्ये ३ जना मात्रै संस्थागत आइसोलेसन अस्थायी कोभिड अस्पताल बसेका छन् । अन्य व्यक्ति होम आइसोलेसनमा बस्दै आएका छन् । 

 

कोरोना संक्रमण हुँदा टाउको दुख्ने, घाँटी दुख्ने, खोकी, लाग्ने, ज्वरो आउने हुन्छ । खास गरी यसबाट बच्नका लागि स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्दछ । माक्स, स्यानिटाइजर प्रयोग गर्ने गुर्नपर्दछ । नियमित हात सावुन पानीले सफासँग धुने गर्नुपर्छ । यो महामारी हो । यसलाई हेलचेक्राई गर्नु हुदैन । ज्यानै जान सक्ने हुनाले सचेत र सजक हुन जरुरी छ । महामारीबाट नागरिकलाई जोगाउनका लागि तिला गाउँपालिका लागि परेको छ ।

 

गाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड सम्वन्धी सचेतीकरण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्री पनि प्रदान गर्ने गरिएको छ । संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेट गर्ने काम पनि गरिएको छ । तर, कतिपय अझै आइसोलेसनमा बस्न नमान्दा चुनौती भने थपिएको छ । गाउँपालिकाका अनुसार होम आइसोलेसनमा बस्ने व्यक्ति संवेदनशील नहुँदा संक्रमणले अर्को कहाली लाग्दो रुप लिने खतरा छ ।

 

संक्रमण फैलदैन भन्दै बजार जाने सामान खरिद गर्ने गरेको गुनासो गाउँपालिकाको छ । उनीहरूलाई सम्झाएर, बुझाएर  संक्रमण मुक्त नभई घरबाट बाहिरन ननिस्कन भनिएको पालिकाको भनाइ छ । तर, यसरी संक्रमितले नै लापर्बाही गर्दा संक्रमण रोकिने अवस्था नदेखिन पनि सक्छ । त्यसैले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आवश्यक देखिन्छ ।