close

आधुनिक हलोको बिँड अँठ्याएर खेतका गरा सम्याउन थालिन् चौदण्डीगढीकी उपप्रमुख चौधरी 

आधुनिक हलोको बिँड अँठ्याएर खेतका गरा सम्याउन थालिन् चौदण्डीगढीकी उपप्रमुख चौधरी 

Trulli
ADVERTISEMENT

उदयपुर– स्थानीय तहलाई यतिखेर योजनाको अनुगमन गरी बजेट निकासा गर्न भ्याइ–नभ्याई छ । कर्मचारीलाई असारे बजेट सक्ने चटारो र त्यसबाट बचेको पैसामा बिल मिलाउन फुर्सद नभइरहेका बेला उदयपुरको चौदण्डीगढी नगर उपप्रमुख रीताकुमारी चौधरीलाई भने खेतीको चटारो आइलागेको छ ।

 

नगर उपप्रमुख चौधरीले १० असारमा आफ्नो जिम्मेवारीअनुरूप नगर परिषद्बाट ७४ करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गराएर खेतीमा होमिएका हुन् । 

 

नगर परिषद् सकिएसँगै उपप्रमुख चौधरीको दिनचर्या अहिले २२ हर्षपावरको टिलर आफैँले चलाएर खेतीमा लसपसिएको छ । उनी आफैँ पावर टिलर
चलाउँछिन् ।

 

३६ वर्षीया नगर उपप्रमुख चौधरी भन्छिन्, ‘खेती किसानी नगरी कसरी खान पुग्छ ? आफ्नो काम आफैँले गर्ने हो । अहिले परिषद्बाट आगामी वर्षको बजेट तथा नीति कार्यक्रम पारित भएपछि खेतीमा लागेकी हुँ । त्यसैले हलो जोत्न थालेकी हुँ ।’

 

जनप्रतिनिधि, त्यसमा पनि नगर उपप्रमुखसँगै आउने दायित्व न्याय सम्पादन, योजना अनुगमन र फरफारकबाट बचेको समय श्रीमान् अनुज चौधरीलाई काममा सहयोग गर्दै आएको उनले सुनाइन् । 

 

उनको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ हडिया बकैना चौरीमा १ बिघा खेत छ । यो खेत जोत्न हल गोरुलाई साता दिन बढी समय लाग्थ्यो । तर, पावरटिलर भएपछि पालैपालो श्रीमान्– श्रीमती चौधरीले चलाउन थालेका छन् ।

 

श्रीमान यतिखेर स्वस्थानी कृषक समूहमा आबद्ध छन् । समूहले २२ हषपावर टिलर खेतमा जोतेर यान्त्रिकीकरणको माध्यमद्वारा उत्पादन बढाउँदै लगेको छ ।
यान्त्रिकीकरणले उत्पादन वृद्धि हुनुका साथै उत्पादन लागतसमेत घटाएको नगर उपप्रमुख चौधरी बताउँछिन् ।

 

सो समूहका अन्य किसानले पनि गोरुले नारेर हिलो खेल्न बाध्य हुनुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् । किसानले पालैपालो सो पावर टिलरले खेत जोत्ने गरेका छन् ।

 

फुर्सद पाए अरूको खेत जोतेर पर्म गर्न पछि नसर्ने नगर उपप्रमुख चौधरी बताउँछिन् । ‘राजनीति एउटा ठाउँमा छ । तर, काम नगरी खान पुग्दैन । मैले कामलाई पहिलो प्राथमिकतामा राख्छु । म कृषक परिवारकी भएकाले पहिले हलो जोत्थेँ, अहिले पावरटिलर जोत्छु,’ चौधरी भन्छिन् ।

 

जनप्रतिनिधि हुनेबित्तिक्कै जीवन शैलीमा आमूल परिवर्तन गर्ने र अनियमितताको खाडलमा डुबेर आफ्नो धरातल बिर्सनेमाझ चौधरी नमुना बनेकी छन् । ‘राजनीति समाज परिर्वतनका लागि गरिने हो । दाम पैसा कमाउन होइन’, चौधरीले सुनाइन् ।