close

महालेखा परीक्षकको प्रतिवेदन : शुक्लाफाँटाको कम बेरुजु

महालेखा परीक्षकको प्रतिवेदन : शुक्लाफाँटाको कम बेरुजु

Trulli
ADVERTISEMENT

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ ।  महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन  अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६÷७७ मा बेरुजु रकम  ८० लाख ५६ हजार रुपैयाँ मध्ये ५६ लाख ९९ हजार बेरुजु रकम फस्र्योट गरिएको छ ।

 

नगरपालिकामा शून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम छ । यो प्रदेशका स्थानीय तहमा फस्र्योट बाँकी रकममध्ये कम हो । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ । 

 

कम बेरुजु भएका स्थानीय तहमध्ये शुक्लाफाँटा ३४औँ स्थानमा छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाका अनुसार आव २०७४÷७५ मा नगरपालिकामा बेरुजु रकम ६ करोड ५४ लाख २४ हजार, आव २०७५÷७६ मा रु दुई २ करोड ९२ लाख ३५ हजार र आव २०७६÷७७ मा  ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम  १० करोड २६ लाख १५ हजार रुपैयाँ रहेको थियो । 

 

कूल रकममध्ये नगरपालिकाले ५ करोड ७२ लाख ३२ हजार बेरुजु रकम फस्र्योट  गरेको छ । नगरपालिका यसअघि कार्य सम्पदान मूल्यांकनमा देशमै उत्कृष्ट ठहर भएको थियो । 

 

कञ्चनपुरका पुर्नवास नगरपालिका–४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली (दोधरा चाँदनी) नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ ।

 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बाजुराको त्रिबेणी  नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम छ । संविधानको धारा २४१ अनुसार स्थानीय तहको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ ।