close

डडेल्धुरामा सडक निर्माणको होडबाजी : तैपनि बाह्रै महिना नागरिकलाई सास्ती

डडेल्धुरामा सडक निर्माणको होडबाजी : तैपनि बाह्रै महिना नागरिकलाई सास्ती

Trulli
ADVERTISEMENT

डडेल्धुरा– ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा स्थानीय सरकारले सडकलाई विकासको पहिलो नारा बनाउँदै आएका छन् । डडेल्धुराका ७ वटै स्थानीय तहले डोजर खरिद गरिसकेका छन् ।

 

जिल्ला सदरमुकामको एनडी प्रकाश राजमार्ग भएर अजयमेरु गाउँपालिका र बैतडीको तल्लो क्षेत्रलाई समेटेको छ । यस्तै, भित्री मधेस क्षेत्रमा रहेका दुई स्थानीय तह आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा पनि सडक कालोपत्रे हुन सकेको छैन ।

 

नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका सदरमुकाममा स्थानीय सरकार गठन भएको ४ वर्ष हँुदासम्म पनि गाउँपालिका, नगरपालिका र सदरमुकाममा समेत सडक पक्की हुन सकेका छैनन् ।

 

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद भट्ट भन्छन्, ‘हामीले डडेल्धुराका ७ वटै स्थानीय सरकारका जनप्रतिनिधिलाई समय–समयमा घचघच्याउने गरेका छौँ । स्थानीय सरकारले विकासको प्रमुख नाराका रूपमा सडकलाई लिएर काम गरे पनि त्यसलाई पूर्णता दिन सकेनन् ।’

 

कम रकममा सडक खनिदिने तर त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु नसक्नु नै समस्या रहेको उनको बुझाइ छ ।सडकको ट्रयाक खोलिए पनि बर्खामा हिलाम्ये हुँदा नागरिकले दुःख भोग्दै आएका छन् । जिल्ला समन्वय समितिले स्थानीय सरकारसँग हातेमालो गर्दै आएको उनले बताए ।

 

जिल्ला सदरमुकाममै रहेको अमरगढी नगरपालिकाको बागबजार क्षेत्रको सडक खाल्डाखुल्डीले हिँडिनसक्नु छ । सडक चौडाका लागि दुई पटक टेन्डर रद्द भएको छ । 

 

स्थानीय राजनीतिक दलका प्रतिनिधिले केन्द्र सरकारलाई दबाब दिँदै आए पनि अहिलेसम्म सुनुवाइ भएको देखिँदैन । ग्रामीण सडक बर्खामा जोखिमयुक्त हुने भएकाले ज्यान जोखिममा राखेर गाडीमा आउजाउ गर्नुपरेको भागेश्वर वडा नम्बर ४ का मनोज साउदले गुनासो गरे ।

 

‘३० मिनेटमा पार गरिसक्नुपर्ने सडकमा अहिले ८० मिनेट लाग्छ । सडक हिलाम्ये बनेका छन् । गाडी चिप्लने डर उत्तिकै लाग्ने र जोखिमै जोखिम मोलेरै गाडी चलाउने गरेका छौँ’, भागेश्वर वडा नम्बर ३ का गाडी चालक केशव रावलले भने ।