close

महामारीमा सरकारको सहयोगी बन्दै माई नगरका युवा 

महामारीमा सरकारको सहयोगी बन्दै माई नगरका युवा 

Trulli
ADVERTISEMENT

इलाम - इलामको माई नगरपालिकाका युवाहरूले कोरोना संक्रमणको समय नगरपालिकाभित्र सामाजिक काम गरेर युवा सशक्तीकरण समूहको नेतृत्व लिएका छन् । नगरपालिकाका २ सय युवाहरूले स्थानीय सरकारको कामलाई सघाएर उदाहरणीय बनेका हुन् ।

 

अहिले माई नगरपालिका–१ का दीपेन्द्र लिम्बूको दैनिकी फेरिएको छ । दुई वर्ष पहिले गाउँले नचिनेका लिम्बूको हिजोआज नगरपालिकाको काममा सहजता दिलाउनु, सूचना, जानकारी र अभियानका कार्यक्रममा सहभागी हुनु दैनिकीजस्तै बनेको छ । उनी न नेता हुन्, न त जनप्रतिनिधि नै । लिम्बूले गाउँलेका समस्या सुनिदिने र सरकारसम्म पु¥याइदिने नयाँ परिचय बनाएका छन् ।  पेसामा कृषक रहेका लिम्बूलाई नगरपालिकाको काम गर्द घर, व्यवहार र परिवारलाई दिने समय निकाल्न धौ–धौ पर्ने गरेको छ । 


नगरपालिकाको वडा नम्बर ४ शुक्रबारे बजारका वीरबहादुर सेन्चुरीको सामाजिक काम गरेरै दैनिकी बितिरहेको छ । घरको काम त छँदै छ, यसबाहेक बजार क्षेत्रका विभिन्न गतिविधिबारे जानकारी लिनु,  महामारी न्यूनीकरणका विषयमा नागरिकलाई सचेतना दिनु उनको दैनिक कार्यक्रम हुने गरेको छ ।


नगरपालिकाको वडा नम्बर ६ का बुद्धराज योङहाङ लिम्बू पनि चोरी–सिकारी,  खोलामा करेन्ट लगाएर माछा मार्नेजस्ता काममा  नियन्त्रण र संरक्षणका लागि जुटिरहेका हुन्छन् ।
यस्तै, वडा नम्बर १ कि कल्पना फागोले गाउँलेको सहयोग, सचेतनामा सरकारी अभियानमै जुटिरहेकी हुन्छिन् ।


गाउँपालिकाका युवाहरूको सामाजिक अभियानबाटै प्रभावित भएर समुदायका लागि नगरपालिकासँग वडाले केही काम गर्नुप¥यो कि उनीहरूलाई नै परिचालन गर्न थालेको छ ।  महामारी कोभिड–१९ को सचेतना अभियानदेखि नगरपालिकाको क्वारेन्टाइन निर्माण व्यवस्थापनसम्मको कामसमेत युवाको काँधमा पुगेको छ ।


नगरपालिकाका २ सय युवा महामारी नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापनदेखि नागरिकलाई सचेतना दिने र स्थानीय सरकारको काममा सहयोगी बन्दै आएका छन् । युवाहरूले नाकाको चेकजाँचमा नेपाल प्रहरीलाई सहयोग गर्दै आएका छन् । उद्यमशीलता र स्वरोजगारको अभियान पनि चलाएका छन् । 


कृषि पेसालाई उन्नत बनाउन नगरपालिकाको सहयोगमा सुपारी बेर्ना उत्पादन र निःशुल्क बिरुवा वितरण गरिरहेका छन् । व्यावसायिक माछा पाल्नेलाई माछाको भुरा दिएर स्थानीयलाई स्वरोजगार बनाउन सीप व्यवस्थापनमा जुटिरहेका छन् । माईका युवाहरूले स्वाच्छ नगर बनाउन सरसरफाइलाई निरन्तरता दिँदै आएका छन् ।


नगरपालिकाले भन्यो :  युवाको सहयोग उदाहरणीय

 

युवाहरू जनप्रतिनिधिका सहयात्री भएको १० नम्बर वडाका वडाध्यक्ष मानबहादुर बस्नेत बताउँछन् । उनी भन्छन्, ‘नगरभित्रका सामाजिक काममा युवाहरूको सहयोग उदाहरणीय छ । महामारीको समय युवाहरूले गरेको सहयोगलाई बिर्सन सकिँदैन ।’ नगरपालिकाका विभिन्न कार्यक्रममा नागरिकको सहभागिता जुटाउने, सचेतना अभियान चलाएर युवाहरूले स्थानीय सरकारको कामलाई प्रभावकारी बनाएको उनको बुझाइ छ ।


वडा नम्बर ४ वडाध्यक्ष सूर्यप्रसाद दुलाल नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा सञ्चालन गरिएको परियोजनाअन्तर्गतको युवा सशक्तीकरण समूहको सहयोगले स्थानीय जनप्रतिनिधिलाई थप काम गर्न हौसला दिएको बताउँछन् ।  उनले भने, ‘महामारीको समयमा युवाहरूको महत्वपूर्ण सहयोग रह्यो । २  महिनाको निरन्तर सहयोगका कारण महामारी व्यवस्थापनमा नगरपालिकालाई सहज बनाएको छ । अझै पनि क्वारेन्टाइन बनाउन युवाहरूको सहयोग लिइरहेका छौं ।’


वडा नम्बर ९ का वडाध्यक्ष लीला राईले युवाहरूको व्यक्तिगत सहयोगले महामारीका समयमा काम गर्न सहज भएको सुनाउँछिन् । उनले भनिन्, ‘युवाहरूले स्थानीय सरकारको काम मात्र होइन, माई खोलामा करेन्ट र विषादी लगाएर माछा मार्ने क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएका छन् ।’


वडा नम्बर ६ का वडाध्यक्ष मुखराज आङ्देम्बे युवाहरू सरकारको साझेदार बनेको बताउँछन् । युवाहरूले सचेतना अभियानमा मात्र होइन, विकास निर्माणको  व्यवस्थापनमा नगरलाई सहज बनाइदिएको उनको भनाइ छ ।


युवाहरूको काम साँच्चिकै प्रशंसायोग्य रहेको नगरप्रमुख दीपक थेवे बताउँछन् । ‘अहिले नगरपालिकाले सरकारको सहयात्री मानेको युवापंक्तिलाई व्यवस्थापन गर्ने योजना बनाइरहेको छ । त्यसका लागि उनीहरूलाई क्षमता विकासमा सहयोग पुर्‍याउँछौं,’ उनले भने ।