close

जडीबुटी निकासी विषयमा दुई गाउँबीच झडप 

जडीबुटी निकासी विषयमा दुई गाउँबीच झडप 

Trulli
ADVERTISEMENT

खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडीबुटी निकासी विषयमा झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडीबुटी संकलन गरेको विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको हो । 

दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडीबुटी निकासी गर्न बन्द गरेको अवस्थामा छिमेकी खर्पेलगाउँबासीले जडीबुटी संकलन गर्दा झडप भएको हो । झडपबाट घाइते दुर्पा गाउँका अविर ऐडीलाई उपचारार्थ जिल्ला अस्पताल पठाइएको छ । अन्य सात जना सामान्य घाइते भएका छन् । 

खर्पेलगाउँका युवाबाट बुधबार कुटिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा पुनः बिहीबार बिहान खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा हातपात गर्न खोजेको  मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिए ।

उनले बिरामी ल्याएर आउने क्रममा खार्पुदोभानमा आफूहरूलाई हातपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए झन् समस्या निम्तिने अवस्था रहेको बताए । 

झडपमा  घाइते भएका बिरामी लिएर आएको समूहमाथि हातपात गर्न खोज्दा प्रहरीले उनीहरूलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिनअघि मात्रै उक्त वन क्षेत्रको पूर्व भीमदुला, पश्चिम डांगेडुङ र  स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र  लाग्ना, दक्षिणमा थारेकोटभित्र जडीबुटी संकलन  र  निकासी तथा वन पैदावार निकासी गर्न प्रतिबन्ध लगाएका थिए ।