close

व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन 

व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन 

Trulli
ADVERTISEMENT


व्यास नगरपालिका कार्यालयले वडा– ३ स्थित तल्लो मादी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । 


वडा–१० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर विसर्जन गरी कम्तीमा मंसिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर संकलन गरी अस्थायीरूपमा विसर्जन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ । 


गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाइदिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । 


वडा–१० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विसर्जनस्थल निर्माण गर्न लागेको छ । 

वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडा–४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।


उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा रहेकाले फोहोर विसर्जनको सम्भावना बढेको देखिएपछि प्रक्रिया अघि बढाइएको  समितिका संयोजक न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा नगरपालिकाका वरिष्ठ आलेप नोडल अधिकृत कुमारकञ्चन जिसी सदस्यसचिव, वडा–१० का वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य, शान्तिनगर, डिहीकुना, बिरालेटार, वेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र विर्ता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी वातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भइसकेको छ ।


दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि वडा–१० र ४ मा पर्ने बाटो र नाला निर्माण भइरहेको छ । गत आवमा ५० लाख र यस आवमा ७० लाख गरी १ करोड २० लाख रुपैयाँ विनियोजन गरिसकिएको  छ ।


दुवै वडालाई बराबरी असर पर्ने हुँदा सोहीअनुरूप विकास निर्माणका कामहरू भइरहेका छन् । संयोजक  पौडेलले भने,‘यस आवभित्रै बाटो नाला निर्माण सम्पन्न गरी आगामी जेठदेखि फोहोर व्यवस्थापन थाल्ने योजना छ ।’


तनहुँमा रहेका दस पालिकामध्ये सबैभन्दा ठूलो र धेरै जनसंख्या रहेको व्यास नगरपालिकाको वडा–२, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर संकलन हुँदैआएको छ ।