close

प्राचीन ‘कोलीय गणराज्य’ संरक्षणमा जुट्यो सरावल गाउँ

प्राचीन ‘कोलीय गणराज्य’ संरक्षणमा जुट्यो सरावल गाउँ

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको सरावल गाउँपालिका कोलीय गणराज्यसँग सम्बन्धित लोपोन्मुख कोलवृक्षको संरक्षणमा जुटेको छ ।


कुष्ठ तथा छाला रोगमा औषधीको रुपमा प्रयोग हुने कोलवृक्षकै नामबाट प्राचीन कोलीय गणराज्यको नामकरण भएको ऐतिहासिक तथ्य छ । ऐतिहासिक कोलवृक्ष सरावल गाउँपालिका– २ जावामा रहेको छ । यहाँ कोल जातका रुख भएको बगैंचा छ ।


कोलवृक्षको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी विभिन्न भौतिक पूर्वाधार र सौन्दर्यकरणको काम अगाडि बढाएको पालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए ।


कुष्ठ र छाला रोगलाई निको पार्न औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षको आयुर्वेदिक महत्वबारे गाउँपालिकाले थप अनुसन्धान गरिरहेको उनले बताए ।


‘हामीले कोलवृक्षको अनुसन्धानका लागि पहल गरिरहेका छौं,’ अध्यक्ष चौधरीले भने, ‘यसको संरक्षणका लागि भौतिक पूर्वाधार निर्माणमा बर्सेनि  बजेट विनियोजन गरेका छौं ।’

 

कोलवृक्षको महिमा 

 

राजा रामलाई कुष्ठ रोग लागेपछि निको पार्न वैद्यहरूले सकेनन् । कोलवृक्षको बगैंचामा बस्ने, वृक्षको लेप लगाउने र पात खान सल्लाह दिएपछि वैद्यको सल्लाहअनुसार राजा राम आफ्ना नजिकका प्रजासहित कोल बगैंचा  आइपुगे ।  उक्त कोलवृक्षमुनि बसेर वृक्षको लेप लगाए र पात खाएपछि उनको कुष्ठ रोग निको भएको किंवदन्ती छ ।


रोग निको भएपछि राजा राम यसै क्षेत्रमा बसेको र यही वृक्षको नामबाट प्राचीन कोलीय गणराज्य नामकरण भएको ऐतिहासिक प्रमाण रहेको छ । कोलीय गणराज्यको सीमा पश्चिममा रोहिणी नदी, पूर्वमा अनोमा घाट (नारायणी नदी), उत्तरमा चुरे पहाड र दक्षिणमा पीपल वनसम्म फैलिएको थियो ।


यसलाई शान्तिका अग्रदुत गौतम बुद्धको इतिहाससँग पनि जोडिएको छ । कोलीय गणराज्यमा गौतम बुद्धको मावली पण्डितपुर, बुद्ध अष्टधातु रहेको रामग्राम स्तुप र बुद्धले स्नान गरेको देवदह तालसँग जोड्ने गरिएको छ । 


कोल बगै‌चाको इतिहास उजागर गर्न गाउँपालिकाले वार्षिक कार्ययोजना बनाई अगाडि बढिरहेको उपाध्यक्ष उत्तमा राय बताउँछिन् । करिब १० बिघामा फैलिएको उक्त बगैंचा नजिकै जावा ताल रहेको छ । कोल बगैंचा ऐतिहासिक, पुरातात्विक क्षेत्र रहेको दाबी गर्दै स्थानीयले उत्खननका लागि माग गर्दै आएका छन् ।


यस क्षेत्रको विकासका लागि गाउँपालिकाले बगैंचाको गेट, फुटवे बनाएको छ । पालिकाले बुद्धको मूर्तिसमेत स्थापना गरेको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए ।


‘यो क्षेत्रको विकासका लागि सभाहल, खेलमैदान, पार्क, तालमा डुंगा सफारी, कोलवृक्षको गणना, ध्यानकेन्द्र, बगैंचाको सुन्दर्यकरण र होमस्टे सञ्चालनको तयारी छ’, पौडेलले भने । सरावल गाउँपालिका पश्चिम नवलपरासीको पूर्व–पश्चिम लोकमार्गदेखि भारतीय सीमासम्म जोडिएको एकमात्र पालिका हो । यसको अधिकांश भाग ग्रामीण क्षेत्रमा पर्छ ।