close

३२ वर्षपछि लालपुर्जा पाउँदाको खुसी

३२ वर्षपछि लालपुर्जा पाउँदाको खुसी

Trulli
ADVERTISEMENT

अछाम - जिल्लाको मेल्लेख गाउँपालिका वडा–३ ठाँटीका स्थानीयले ३२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । ३२ वर्षदेखि ठाँटीका ४ सय ७ घरधुरी लालपुर्जाविहीन थिए ।


२०४५ मा जग्गा नापी भई प्रमाण पुर्जा वितरण अन्तिम चरणमा रहे पनि द्वन्द्वका बेला माओवादीले ०५८ मा अछाम सदरमुकाम आक्रमण गरेको थियो । सोही बेला जिल्लाका विभिन्न सरकारी कार्यालय ध्वस्त भएका थिए ।


माओवादी लडाकुले जिल्ला प्रशासन, जिल्ला मालपोत र नापी कार्यालय पनि ध्वस्त पारेपछि जिल्लाका सम्पूर्ण प्रमाण नष्ट भएका थिए । त्यसपछि जिल्लाको धेरै जग्गाको लालपुर्जा नष्ट भएको थियो । सँगै मेल्लेख गाउँपालिका वडा–३ साविकको ठाँटी गाविस पूरै लालपुर्जाविहीन भएको थियो । 


गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको विशेष पहलमा ठाँटीमा २ सय ५० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ । अन्य १ सय ५७ घरधुरीका लागि पनि प्रमाणपुर्जा वितरण प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।


अध्यक्ष बोहराले चुनावताका ठाँटीका जनतालाई लालपुर्जा वितरण गर्ने वाचा गरेकामा अहिले त्यो पूरा भएको दाबी गरे । ‘आगामी दिनमा पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न गाउँपालिका प्रतिबद्ध छ’, उनले भने ।


वडा–३ ठाँटीका वडाध्यक्ष केशरबहादुर शाहले लालपुर्जा वितरणले थातबासविहीन हुने अवस्थामा पुगेका नागरिकलाई फाइदा पुगेको बताए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय, गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीलगायतका समाजसेवी, जनप्रतिनिधि तथा जग्गाधनी सहभागी थिए ।