close

बर्दघाटका १६ मध्ये १३ वडा खरको छानामुक्त घोषणा

बर्दघाटका १६ मध्ये १३ वडा खरको छानामुक्त घोषणा

Trulli
ADVERTISEMENT


नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरका १३ वडाका खरको छाना भएका घरमा जस्तापाता लगाइदिएको छ । १३ वडाका गरिब, विपन्नका घरमा जस्तापाता लगाएपछि नगरपालिकाले खरको छानोमुक्त घोषणा गरेको हो ।


‘हामीकहाँ सूचीकृत वडा नम्बर १ देखि १३ सम्मका खरका छानो भएका घरलाई जस्तापाता सहयोग गरेका छौं । १३ वडाका गरिब नागरिकलाई खरको छानोमुक्त बनायौं’, नगरप्रमुख धीरज शर्मा बस्यालले भने, ‘चालू वर्ष नगरलाई नै खरको छानोमुक्त घोषणा गर्नेछौं ।’

 

चालू वर्षमा वडा-१४, १५ र १६ मा रहेका खरका छानोका घरमा जस्तापाता लगाएर नगरलाई खरको छानोमुक्त नगर घोषणा गर्ने योजना रहेको उनले बताए । ‘यो जनप्रतिनिधि भएर आएकै वर्ष बनाएको योजना हो’, नगरप्रमुख बस्याल भन्छन्, ‘यसअघि यस्तो योजना कुनै स्थानीय तहले बनाएका थिएनन् । हाम्रो योजनालाई संघीय सरकार र धेरै स्थानीय तहले अनुशरण गरेका छन् ।’


बर्दघाट नगरका जनप्रतिनिधिले ल्याएको खरको छानोमुक्त अभियान देशैभर सञ्चालन गरिएको उनको दाबी छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले चालू वर्ष नगरबासीका घरलाई खरको छानोमुक्त बनाउन ५० लाख रुपैयाँ बजेट रहेको जानकारी दिए । ०७४/७५ देखि हालसम्मका ३ आर्थिक वर्षमा नगरमा २ सय २१ घरलाई खरको छानोमुक्त बनाइएको उनले बताए । 

 

०७४÷७५ मा ७६, ०७५/७६ मा ५५, ०७६/७७ मा ९० गरी कुल २ सय २१ घर खरको छानोमुक्त भएका छन् । त्यसका लागि ८८ लाख ४० हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी पुष्कर काफ्लेले बताए । ‘यस वर्ष ५० लाख रुपैयाँको जस्तापाता, पाइप तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउन टेन्डरमार्फत खरिद प्रक्रिया सुरु भएको छ’, काफ्लेले भने ।

 

प्रदेशको २५ लाख, नगरको २५ लाख र यसअघि खर्चिको रकमसमेत गरी कुल १ करोड ३८ लाख ४० हजार रुपैयाँ नगरले खरको छानोमुक्त अभियानमा लगाएको हो  । नगरबासीलाई सुरक्षित आवास उपलब्ध गराउन योजना सञ्चालन गरिएको र गोठहरूलाई भने जस्तापाता नबाँडिएको बर्दघाट नगरपालिकाले बताएको छ ।