close

बूढीनन्दाका ३ वडामा पस्याे धुपे खोलाको भेल

बूढीनन्दाका ३ वडामा पस्याे धुपे खोलाको भेल

Trulli
ADVERTISEMENT

बाजुरा - साउन-भदौको अविरल वर्षापछि धुपे खोलामा आएको बाढीका कारण बूढीनन्दा नगरपालिकाको वडा-२, ३ र ४ का स्थानीयलाई आउजाउमा सास्ती खेप्नु परेको छ । गोरेटो बाटो समेत खोलाले बगाएपछि स्थानीयलाई आफ्नाे  थातथलो नै जान समस्या भएकाे छ ।

 

बाढीले बाटो बगाएपछि बूढीनन्दा- ३ र ४ का भुल्याना, नुरी, तलिगोठी, कुरुलगायत गाउँका स्थानीयलाई अर्को ठाउँ जान समस्या परिरहेको छ । वडा- २ का स्थानीय खोला पसेर बाटो बिग्रिएपछि लेखऔल गर्नसमेत समस्या भएको गुनासो गर्छन् ।

 

‘परापूर्वदेखि आउजाउ गर्ने बाटो छोटो र  सजिलो थियो । त्यही बाटो खोलाले बगाएपछि अहिले लामो र अप्ठेरो बाटो हिँड्नुपर्छ’, स्थानीय सतवीर बूढा भन्छन् ।


बाटो नहुँदा अहिले नुरी, भुल्याना, कुरुलगायतका क्षेत्रमा उत्पादित तरकारी बारीमै कुहिने अवस्था आएको बूढाको गुनासो छ । ‘उत्पादित तरकारी बजार पुर्‍याउन सकिएको छैन । मानिसलाई भारी बोकेर हिँडडुल गर्न असहज भएपछि बारीमा लगाएको स्याउलगायत विभिन्न फलफूल तथा तरकारी बारीमै कुहिएको हो’, बूढाले भने ।

 

३ वडाबासी ओहोरदोहोर गर्ने बाटोमा खोलाको भेल पसेपछि गाउँका बजारमा तरकारी अभाव भए पनि स्थानीय सरकारले चासो नदिएको गाउँबासी सुनाउँछन् । ‘लामो बाटोमा खच्चरले सामान ढुवानी गर्दा महँगोमा खरिद गर्नुपर्ने अवस्था छ । गोरेटो बाटोसमेत खोलाले बगाएपछि स्थानीयले कोल्टीबाट खाद्यान्नलगायत सामग्री गाउँ पुर्‍याउन पाएका छैनन्’, बूढाले भने ।

 

स्थानीयको मुख्य आम्दानी र रोजगारीको स्रोत तरकारी बेच्न नपाउँदा नानीबाबुलाई  कापी-कलम र लुगाफाटासमेत किन्न नसकिएको गृहणी अम्बिका बोहरा सुनाउँछिन् । 

 

‘बिग्रिएको बाटो मर्मतमा बूढीनन्दाले चासो नदिँदा स्थानीयले लगाएको तरकारी बजारसम्म पुग्न सकेको छैन । यसले गर्दा आम्दानीको स्रोत गुमेको छ’, उनले भनिन् । बाटो अवरुद्ध हुँदा ३ वडाका करिब २ हजार बढीलाई आउजाउमा सास्ती भइरहेको उनले जानकारी दिइन् ।

 

बूढीनन्दा वडा- ३ का वडाअध्यक्ष रामबहादुर बोहराले भने खोलाको भेलले बिगारेको बाटो छिट्टै मर्मत गर्ने तयारी भइरहेको दाबी गर्छन् । उनले भने, ‘भदौरे भेलको बाढीले बगाएको गोरेटो बाटो बनाउन स्टिमेट भइसकेको र केही दिनमै काम सुरु हुन्छ । आउजाउ गर्ने गोरेटो बाटो नहुँदा ३ वडाबासीले पाएको सास्ती छिट्टै अन्त्य हुने गरी काम गर्छौं ।’