close

कोलीय गणराज्यका रुपमा विकास हुदै जाबा गाउँ

कोलीय गणराज्यका रुपमा विकास हुदै जाबा गाउँ

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम–  सरावल– २ जाबा गाउँलाई ऐतिहासिक कोलीय गणराज्यका सात नगरमध्ये एक नगरका रूपमा विकास गरिने भएको छ ।


सोहीअनुरूप पर्यटन विकासमा लागेको सरावल गाउँपालिकाले अभियान थालेको हो । सरावल गाउँपालिका पूर्व–पश्चिम राजमार्ग चुरेदेखि समथर भूभाग हुँदै भारतीय सिमानासँग जोडिएको पश्चिम नवलपरासीको एक मात्र पालिका छ ।


अभियानअन्तर्गत बुद्धकालीन ऐतिहासिक नगर ककरपत्त नगर घोषणा गरिएको पालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए  ।


‘बौद्धकालको ऐतिहासिक कोलीय गणराज्यमा रामग्रामसहित सातवटा नगर थिए । तीमध्ये ककरपत्त नगर पनि एक हो, यही ऐतिहासिकताको अध्ययनपछि नगर घोषणा गरेका हौँ’, इतिहासका अध्येतासमेत रहेका डा. कौशलेन्द्रबहादुर श्रीवास्तवले भने, ‘बुद्धकालीन भूगोल र इतिहासबाट यो प्रष्ट हुन्छ । त्यसैले ककरपत्त कोलीय गणराज्यको एक नगर हो ।’


रामग्राम जस्तै ककरपत्त पनि ऐतिहासिक नगर हो । यही भूगोलमा कुन्डी नगरसमेत रहेको बुद्धकालीन इतिहास छ । डा. श्रीवास्तव भन्छन्, ‘कुन्डी नगर ककरपत्तको नजिकै चुरे क्षेत्रको पहाड नजिकै रहेको वर्णन छ ।’


कन्डी नगर हालको सालवास गाउँ नजिकै हुन सक्ने उनले औँल्याए । हिन्दी भाषामा लेखिएको डा. भरतसिंह उपाध्यायको ‘बुद्धकालीन भूगोल’का साथै थुप्रै ग्रन्थहरूको अध्ययनबाट यो इतिहास प्राप्त भएकोे डा. श्रीवास्तवको भनाइ छ ।


‘बुद्धकालमा शाक्य वंशको शाक्य गणराज्य र कोलीय गणराज्य थिए’, डा. श्रीवास्तवले भने, ‘साल वृक्षको नामबाट शाक्य गणराज्य बन्यो, कोल वृक्षको नामबाट कालीय गणराज्य भयो, जुन कोल वृक्ष यहाँ पाइएको छ ।’


पूर्वमा नारायाणीदेखि पश्चिम रोहिणी नदीसम्मको भूगोललाई कोलीय गणराज्य र रोहिणीदेखि पश्चिम कपिलवस्तुसम्मको राज्यलाई शाक्य गणराज्य भनेर इतिहासमा पाइएको उनले बताए ।


पर्यटन विकासमा लागि ऐतिहासिक स्थलहरूको पहिचान आवश्यक रहेकाले अध्ययनदेखि उत्खननका लागि आफूले पहल लिएको अध्यक्ष चौधरीले बताए । यस क्षेत्रको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए ।


यहाँ ऐतिहासिक कोल वृक्षको बगैँचा छ, जुन बुद्धकालीन मानिन्छ । कोल वृक्षलाई कुष्ठरोगको औषधिका रूपमा प्रयोग गरिएको इतिहासमा उल्लेख छ ।