close

व्यवसायीकाे कब्जामा खुलामञ्च 

व्यवसायीकाे कब्जामा खुलामञ्च 

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुरा सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च २ वर्षदेखि निर्माण कम्पनीका ठेकेदारहरूको कब्जामा परेको छ । जिल्लामा केन्द्रदेखि स्थानीय राजनीतिक पार्टीका आमसभा, सार्वजनिक सुनुवाइ, दिवस मनाइने उक्त मञ्च ठेकेदार कम्पनीका निर्माण सामग्रीले भरिएका हुन् ।

 

खुलामञ्च नजिकै जिल्ला प्रशासन र बडिमालिका नगरपालिकाकाे भवन निर्माण भइरहेका छन् । सरकारी काम भएकाले पनि ठेकेदारले कब्जा गरेको खुलामञ्च हटाउन कसैले पहल नगरेको स्थानीय  बताउँछन् ।

 

जिल्ला प्रशासन कार्यालय, बडिमालिका नगरपालिका र जिल्ला समन्वय सभापतिको क्वार्टरको बीचमै मञ्च छ । सभा-सम्मेलनसँगै भलिबल खेल्नका लागि मञ्च प्रयोग हुने गरेको थियो । ठेकेदारको कब्जामा पुगेपछि खुलामञ्च अगाडिका सार्वजनिक शौचालय पनि बेवारिसे बनेका छन् ।

 

तर, जिल्ला प्रशासन र बडिमालिका नगरको भवन निर्माण सामग्री खुलामञ्चमा नराखेको दाबी दुवै निर्माण ठेकेदारको छ ।

 

खुलामञ्चमै थुपारिएको निर्माण सामग्री कसको हो भन्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई समेत जानकारीमा छैन । ‘भवन निर्माणका सामग्री कसले, किन राखेको हो । सार्वजनिक ठाउँलाई लामो समयसम्म प्रयोगविहीन बनाउन मिल्दैन । के भएको रहेछ, १/२ दिनमै बुझेर हटाउन लगाउँछु । नगरपालिकासँग सल्लाह गर्छौं’, प्रजिअ गैरेले भने ।

 

सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न नमिल्ने हुँदा मञ्चलाई कब्जा गर्नेमाथि सरकारले कारबाही गर्नुपर्ने कानुनी परामर्शदाता तथा नागरिक समाजका अगुवा तुलाराम जैशी बताउँछन् । ‘सार्वजनिक सम्पत्तिलाई निजी रुपमा प्रयोग गर्न पाइँदैन । यदि गरेको भए प्रमुख जिल्ला अधिकारीले यसबारे चासो राख्नुपर्ने हो’, उनले थपे । 

 

सार्वजनिक सम्पत्ति व्यक्तिको प्रयोगमा रहेको पाइएकाले स्थानीय स्तरमा यसको आलोचना भइरहेको छ । लामो समयदेखि खुलामञ्च निजी सम्पत्तिको रुपमा प्रयोगमा आउँदा पनि स्थानीय सरकारले चासो नदिएको सदरमुकामबासीको गुनासो छ । बडिमालिका नगर स्वामित्वको उक्त  खुलामञ्चको संरक्षण, सम्न नसक्दा जीर्ण बन्दै गएको छ ।


ठेकेदारका निर्माण सामग्रीले खुलामञ्च भरिभराउ भएको छ । २ वर्षदेखि खुलामञ्च प्रयोगविहीन हुँदा जिल्लाका सभासम्मेलनदेखि खेल क्षेत्रका सबै गतिविधि प्रभावित भएका छन् ।