close

आफ्नाेमा पानी नआएपछि अरूका धारा फुटाउँदै हिँड्छन् स्थानीय 

आफ्नाेमा पानी नआएपछि अरूका धारा फुटाउँदै हिँड्छन् स्थानीय 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा- ३ र ४ को बीचमा पर्ने गोब्रेपाटामा एक वर्षअघि घरघरमा धारा बनेपछि पानी झर्‍यो । तर, एक वर्ष नपुग्दै आफ्नाै धाराको पाइप काटेर स्थानीयले फ्याँकिदिएका छन् । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । जिल्लाभरि यस्ता उदाहरण धेरै छन् ।

 

स्वामीकार्तिक खापरको वडा- ३ र ४ मा ग्रामीण जलस्रोत परियोजनाले लामो समयपछि गाउँमा खानेपानी सुविधा उपलब्ध गराएको थियो । तर, स्थानीयहरूले सरकारले बनाइदिएको पाइप बीच बाटोमै काटेर फालिदिएका छन् ।

 

‘सरकारले बनाउँदै जाने तर आफ्ना घरमा पानी नआएको निहुँ पारेर स्थानीयले पाइप काट्न थालेपछि त्यसो नगर्न भन्दा आफैँमाथि जाइलागे’, स्थानीय सुमन शाही भन्छन् । वडा- ३ र ४ का समुदायलाई पानी वितरण समान रूपमा गरिए पनि एक घरमा नआउनेवित्तिकै पाइप र धारा काट्न गरिएको उनी बताउँछन् ।

 

स्वामीकार्तिक गाउँपालिका र जलस्रोत परियोजनाको समन्वयमा बनेका खानेपानीका धारामा निरन्तर पानी आउन नपाउँदै पाइप लाइनै काटेर फाल्दा आयोजना क्षतविक्षत भएको छ । प्रत्येक वडावासीलाई शुद्ध खानेपानी व्यवस्था गरे पनि सदुपयोग हुन नसकेको गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही बताउँछन् ।

 

‘करोडाैँको लगानीमा स्थानीयका घरघरमा पानीका धारा पुगेका छन् । स्थानीयकै लापरबाहीका कारण आफ्नै घुँडोमा बन्चरो हान्ने काम भएको छ’, उनले भने ।