close

शिशुु जन्मेको एक घण्टामै आमाको मृत्यु, उपप्रमुख रेग्मीद्वारा आर्थिक सहयोग

शिशुु जन्मेको एक घण्टामै आमाको मृत्यु, उपप्रमुख रेग्मीद्वारा आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले एक जना नाबालिकाको पालन पोषणका लागि आर्थिक रकम सहयोग गरेकी छन् । बुढीनन्दा नगरपालिका वडा नं- ४ की अम्बकला रोकायाकी छोरीलाई पालन पोषणका लागि भन्दै उनले २० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिइन् ।


गत २२ असोजमा अत्यधिक रक्तस्रावका कारण सुत्केरी भएको एक घण्टामै ज्यान गुमाएकी २३ वर्षीया रोकायाकी एक महिनाकी छोरीलाई पालन पोषणमा राहत होस् भनेर आफूले नगद तथा लुगा कपडा र ल्याक्टोजिन सहयोग गरेको उनले बताइन् ।


आमाको मृत्युपछि शिशुको पालन पोषणका लागि परिवारका सदस्यलाई समस्या भएको शिशुका बुबा ललितसिंह बोहोराले गुनासो गरे । उनले छोरीको अन्नप्रासन गरेको भए पनि छोरीलाई पाल्न समस्या नहुने तर अहिले ल्याप्टोजिनको भरमा छोरीको ज्यान जोगाउन मुस्किल भएको बताए ।
 

उनले भक्कानिँदै भने, ‘छोरीको अनुहार हेर्दा श्रीमतीको याद आउँछ । छोरी टुहुरी हुनुभन्दा बरु कालले मलाई लगिदिए हुन्थ्यो । छिमेकीका छोराछोरीले आमा भन्दा आफ्नो छाती चर्किएर आउँछ ।’ रोकायाको घरमा आमा, उनी र एक महिने छोरी छन् । बुबाको मृत्यु भएको एक महिना नपुग्दै श्रीमतीको मृत्यु भएको उनले बताए । 

 

वडा नं- ४ का वडा अध्यक्ष राजनकुमार रोकायाको समन्वयमा निकिता थापा सिंहले काठमाडौंबाट पठाएको आठ हजार, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहको समन्वयमा मुना सापकोटाले काठमाडौंबाट पठाएको पाँच हजार रुपैयाँ नगद पनि हस्तान्तरण गरिएको छ ।
 
 
वडा नं- ४ कुरु गाउँमा अहिलेसम्म पनि प्रसूति केन्द्र स्थापना हुन नसक्दा त्यहाँका महिलाहरूले बेलाबेला समस्या भोग्दै आएका मात्र छैनन्, यस वर्ष मात्र प्रसूति हुन नसकी दुई जना महिलाको बाटोमै ज्यान गएको छ ।