close

छात्राका दुःखः निःशुल्क प्याड पाएर के गर्नु, शौचालय छैन

छात्राका दुःखः निःशुल्क प्याड पाएर के गर्नु, शौचालय छैन

Trulli
ADVERTISEMENT

बाजुरा - विद्यालय बेला बाजुराका  सामुदायिक तथा निजी विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा छात्राहरूलाई स्यानिटरी प्याड व्यवस्थापनमा समस्या भएको छ । सरकारले बाजुराका प्रत्येक विद्यालयमा अनिवार्य स्यानिटरी प्याड व्यवस्थापन गरे पनि व्यवस्थापन नहुँदा छात्राहरूलाई समस्या भएको हो ।

 

सरकारले गत वर्षदेखि विद्यालय पढ्ने छात्राहरूलाई प्याड निःशुल्क व्यवस्थापन गरे पनि बाजुरामा यो वर्षदेखि मात्र कार्यान्वयनमा आएको छ । ‘विद्यालयमा निःशुल्क प्याड वितरण गरिए पनि छात्रमैत्री शौचालय नहुँदा प्याड प्रयोग गर्न पाइँदैन’, बडिमालिकाको जाल्पा उच्च माविमा अध्ययनरत एक छात्राले भनिन् ।
 
बाजुरामा २ सय ७४ सामुदायिक र निजी विद्यालय सञ्चालनमा छन् । यीमध्ये ६३ मावि र २१ उमावि रहेका छन् । 

 

‘सरकारले सबै विद्यालयका छात्राहरूलाई निःशुल्क प्याड वितरण गरेको छ तर विद्यालयमा प्याड व्यवस्थापन ठाउँ नहुँदा प्रयोगविहीन बनेको छ’, बूढीगंगाको त्रिशक्ति उमावि कक्षा १२ मा अध्ययनरत विपना थापा भन्छिन् ।


स्थानीय सरकारले प्रत्येक सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरे पनि प्याड व्यवस्थापन नहुँदा छात्राहरूले प्रयोगमै नल्याउने गरेको जाल्पा उमाविका शिक्षक भरत शाहले बताए । 


‘छात्राहरूलाई प्याड वितरण गरिरहेकै छौँ । उनीहरूले विद्यालयमा प्रयोग नगरे पनि घरमा लैजान्छन् । त्यहाँ प्रयोग भए-नभएकोबारे जानकारीमा छैन’, शाहले भने ।


 
विद्यालयमा प्याड व्यवस्थापन नहुँदा महिनावारी भएको ३ दिनसम्म पढ्नै नआउने गरेको छात्राहरू बताउँछन् । खप्तडछेडेदह गाउँपालिका- १ मा रहेको काँडा उमावि कक्षा १० मा अध्यनरत एक छात्राले भनिन्, ‘महिनावारी भएको ३ दिनसम्म प्रायः छात्राहरू विद्यालय आउँदैनन् । विद्यालयमा भएका शौचालय प्रयोगविहीन छन् । प्याड व्यवस्थापन गर्ने ठाउँ छैन । यसले गर्दा प्रयोग पनि हुँदैन ।’


 
बडिमालिका नगरपालिकाका शिक्षा शाखाका कर्मचारी राम कटुवालले मावि र उमाविका सबै विद्यालयमा छात्राहरूलाई निःशुल्क प्याड वितरण गरिए पनि व्यवस्थापन नहुँदा समस्या देखिएको बताए । ‘त्यसका लागि नगरपालिकाबाट नगरभित्रका विद्यालयमा छात्रामैत्री शौचालयसँगै प्याड व्यवस्थापन भौतिक संरचना निर्माण गरिन लागेको छ’, कटुवालले भने ।

 

सरकारले नीतिमा निःशुल्क स्यानिटरी प्याड व्यवस्थापन गरे पनि विद्यालयमा व्यवस्थापनका लागि ठाउँ नहुँदा नारामा मात्रै सीमित भएको नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारी सुनाउँछन् ।


‘बाजुरामा महिनावारी भएका बेला धेरै महिला छाउगोठमा बस्ने चलन अन्त्य भएको छैन’, छाउमै बस्नेले स्यानिटरी प्याड लगाउने कल्पनाभन्दा बाहिरको विषय हो’, भण्डारीले भने ।