close

लालपुर्जाविनै बित्यो सात पुस्ता, भगवानको नाममा तिरो

लालपुर्जाविनै बित्यो सात पुस्ता, भगवानको नाममा तिरो

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको बुंगल नगरपालिका वडा- ६ बड्डीज्यावनका ४० घरपरिवार वर्षौंदेखि लालपुर्जाविहीन छन् । सबैको आआफ्नै खेतबारी भए पनि कसैको नाममा लालपुर्जा छैन ।


आफूहरूको नाममा जमिन नभएकाले सुकुम्बासीको सूचीमा राखी सरकारले लालपुर्जा दिनुपर्ने माग उनीहरूको छ । ‘सात पुस्तादेखि अहिलेसम्म न आफ्नो नाममा जग्गाको लालपुर्जा छ, न त सरकारले सुकुम्बासीमा सूचीकृत गरेको छ । लालपुर्जा दिलाउन र सुकुम्बासीको सूचीमा समेटिदिन भौँतारिएको वर्षौं बित्यो । चुनावका बेला विभिन्न पार्टीका नेताहरूले लालपुर्जा दिलाउने आश्वासन दिए पनि जितेपछि कसैले वास्ता गरेनन्’, स्थानीय कल्याण धामी भन्छन् ।


लालपुर्जा पाउनकै लागि पटकपटक सरकारी कार्यालयदेखि तीनै तहका सरकारलाई गुहार्दासमेत अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।


हरेक चुनावमा लालपुर्जा दिलाउने र सुकुम्बासीको सूचीमा सूचीकृत गर्ने आश देखाएर भोट माग्ने नेताले जितेपछि वस्ती आउनै छाड्ने गरेको ज्यावनबासी बताउँछन् ।


‘चुनावका बेला भोटको आसले आश्वासन दिने तर चुनाव सकिएपछि वस्तीमा हेर्ने कोही हुँदैनन् । स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर हाम्रो समस्याबारे सिन्को भाँचेन’, धामीले भने । लालपुर्जा नभएपछि कतिपय बसाइँ सरेर गएका छन्, जो अझै आसमा बसेका छन्, तिनको समस्या जस्ताको तस्तै छ ।


सरकारी सेवा सुविधाबाटै बञ्चित

 

बड्डीज्यावनवासीले लालपुर्जा नहुँदा बैंक, सहकारी तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्न पाएका छैनन् । सरकारले दिने सेवा, सुविधामा पनि अंकुश लागेको छ ।


वडा कार्यालय, नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र केन्द्र सरकारबाट पाइने सेवा, सुविधा लालपुर्जा अभावकै कारण बड्डीज्यावनवासी बञ्चित हुनुपरेको छ ।


गत मंसिरमा बुंगल नगरपालिका वडा- ६ वडा कार्यालयले किसानका लागि हाते ट्याक्टर, पंखालगायत कृषिजन्य औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । जग्गाधनी पुर्जा नहुँदा यस्तो सुविधा लिन नपाएको स्थानीय हर्क बोहराले बताए । नगरपालिकाबाट अनुदान पाइने सामान्य कृषि बिउ-बीजन लिन पनि लालपुर्जा चाहिन्छ भन्दै बञ्चित गर्ने गरेको उनको दुखेसो छ ।


२०७० सालमा बड्डीज्यावनबासीले बेउरभवानी कृषि सहकारी संस्था संचालनमा ल्याएका थिए । तर, लालपुर्जा नभएकै कारण सरकार र अन्य संस्थाहरूबाट प्रदान गरिने सेवा, सुविधा लिन नपाएपछि उक्त कृषि सहकारी संस्था बन्द भएको संस्थाका अध्यक्ष पर्वते बोहराले बताए ।


देवतालाई मालपोत

 

बड्डीज्यावन मन्दिरैमन्दिरको गाउँको नामले पनि चिनिन्छ । यस गाउँमा विभिन्न देवीदेवताका १२ वटा मन्दिर छन् । यहाँका बासिन्दा आफूलाई महादेवको करिया (दास) ठान्छन् । सबैको आआफ्नै खेतबारी छ तर कसैको नाममा लालपुर्जा नभएकाले जमिन महादेवको भएको विश्वास गर्छन् ।


स्थानीयले वर्षमा एकचोटि देवतालाई तिरो तिर्छन् । जग्गा उपभोग गरेबापतको मालपोत भनेर उनीहरूले वर्षमा एउटा बोका महादेवको मन्दिरमा चढाउने गरेको स्थानीय मनवीर धामी सुनाउँछन् ।


‘आफ्नो नाममा जग्गा भए सरकारलाई मालपोत तिरिन्थ्यो । त्यो नभएपछि हामीले सरकारको होइन, महादेवको जग्गा उपभोग गरेको ठान्दै मालपोत पनि महादेवलाई नै तिर्छाैं’, धामी भन्छन् ।


ज्यावनमा २०४९ सालमा नापी गर्न आएको टोलीले जग्गा कित्ताकाँट नगरेरै फर्किएको त्यतिबेला नापी कार्यमा सहयोग गरेका स्थानीय नरुवा बोहरा बताउँछन् ।


बोहराले भने, ‘जग्गा नाप्न आएको टोलीले जग्गा नाप्ने काम सुरु गर्‍यो कि मेसिनले काम नगर्ने, गाउँ नै कुहिरोले ढाकिने, कुहिरो फाटेका बेला नाप्न खोज्दा मेसिनले कामै नगर्नेजस्ता समस्या भए । अमिनहरू पनि बिरामी परे । चिसोले बिरामी भएका होलान् भन्ठान्यौँ । यता समस्या भयो, अर्को गाउँको नापौँ भनेर जग्गा नापजाँच गर्दा मेसिनले काम गर्‍यो, बिरामी भएका अमिनहरूलाई पनि सन्चो भयो ।’

 

दुई सातासम्म पनि यस्तै क्रियाकलाप दोहोरिएपछि अमिनले पूरै गाउँको दुई कित्ता बनाएर महादेवको नाममा नापेर फर्किएको बोहरा स्मरण गर्छन् ।

 

केन्द्र र प्रदेश सरकारसँग सहयोग माग्दै नगरपालिका


बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्टले गाउँको जग्गा गुठी भएकाले ज्यावनवासीको सूचीमा नाम सूचीकृत गर्न केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिने बताए ।


‘बड्डीज्यावनमा उनीहरूलाई लालपुर्जा दिन सकिँदैन होला । जग्गा आफ्नो नाममा नभए पनि सबै जना मिलेर बसेका छन् । अझैसम्म जग्गाको विषयमा विवाद भएको पाइएको छैन । नगर सरकारले माग सम्बोधनका लागि आवश्यक परामर्श गरिरहेको छ’, विष्टले भने ।


वास्तविक सुकुम्बासी पहिचान गरी तिनको समस्या समाधान गर्न नेपाल सरकारले सुकुम्बासी समस्या समाधान आयोगसमेत गठन गरेकाले केही आशा पलाएको उनी सुनाउँछन् ।