close

पैसा नहुने बिरामीले बाँच्न नपाउनु ? 

पैसा नहुने बिरामीले बाँच्न नपाउनु ? 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिका वडा नं. ५ नवाघरकी ४१ वर्षीया लालसरा बिक उपचार नहुँदै घर फिर्ता भएकी छन् । बिकको उपचार नहुँदा जीवन, मरणको दोसाँधमा छिन् । 


लासरालाई आफन्तले उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका भए पनि उपचारका लागि आवश्यक पैसा नहुँदा घर ल्याएका छन् । आफन्तले स्थानीय स्वास्थ्य चौकी हुँदै अछामको बयलपाटा अस्पतालमा ऋण काढेर १ हप्ता पहिला उपचारका लागि लगेका थिए । बयलपाटा अस्पतालले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरे पनि पैसा नहुँदा घर ल्याएको उनकी दिदी तुलसी लुहारले बताइन् ।
 

‘अछामसम्म जेनतेन गरेर पुर्‍यायौँ । धनगढी लैजान पैसा छैन’, उनले भनिन्, ‘अब उपचार नपाएर मर्ने भई ।’ लालसराका श्रीमान् लालसिंह बिकको पनि ५ वर्ष पहिला उपचारका लागि पैसा नहुँदा मृत्यु भएको थियो । अहिले बिकका एक छोरा, एक छोरी नाबालक छन् । श्रीमान् बितेपछि अलपत्र परेको उनको परिवार बिरामी हुँदा निकै समस्यामा परेको स्थानीय हिक्मत थापाले बताए ।

 
बिकको कलेजो तथा पेटमा संक्रमण भएको हुन सक्ने भन्दै बयलपाटा अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो । ‘धनगढी लैजाने न आफन्त छन्, न त पैसा नै, उपचार नपाएर मर्ने भएँ’, लालसराले रुँदै भनिन्, ‘गाउँकालाई उपचारमा सहयोगका लागि भनेकी छु ।’


११ वर्षीय छोरा मंगलले बुबाको मृत्यु भएपछि अलपत्र परेका र अब आमाको पनि बाँच्ने आस मर्दै गएको बताए । उनले आमाको उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् । थोरै सहयोग गरेर भए पनि आमाको ज्यान बचाइदिन उनले आग्रह गरेका छन् ।
 

लालसराको गाउँमा एउटा सानो खरले छाएको घरबाहेक सम्पत्तिका नाममा अरू केही छैन । ‘जग्गा, जमिन बिक्री गरम् भने पनि छैन, अन्य कुनै जिन्सी सामान छैन, रिन पनि कोहीले पत्याउँदैन’, लालसराले भनिन् । 
 

उनी बरामी हुँदा उनका २ छोराछोरीसमेत अलपत्र परेका छन् । आमाले काम गरेर उनीहरूलाई पाल्ने गरेकी तर अब आमा नै बिरामी भएपछि दैनिक छाक टार्न पनि समस्या भएको छोरी गीता बिकले बताइन् ।
 

लालसरा बिरामी भएको १ महिनाभन्दा बढी समय भइसकेको छ । ‘उपचारका लागि पहल त गरेका छौँ’, स्थानीय हिक्मत थापाले भने, ‘उनको अवस्था हेर्दा निकै जोखिम रहेको छ, काठमाडौं उपचार गर्न लिनुपर्ने अवस्था छ ।’ 


उपचारमा जाने गाडी भाडासम्मको व्यवस्थापन गर्न नसकेको थापाले बताए । लालसराको उपचारका लागि पहल गरिदिनसमेत थापाले आग्रह गरेका छन् ।