close

कम्बल ओडेर धुरुधुरु रोए बा-आमा

कम्बल ओडेर धुरुधुरु रोए बा-आमा

Trulli
ADVERTISEMENT

बझाङ- हिमाली जिल्ला बझाङमा चिसो बढ्दै गएपछि खप्तडछान्ना गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली उपलब्ध गराएको छ । गाउँपालिकाले पालिकाभरका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन १-१ वटा कम्बल दिएको हो ।


गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत पालिकाका सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि ज्येष्ठ नागरिकका आँखामा हर्षका आँसु छचल्किए । 

 

गाउँपलिकाका ७ वटै वडाका १ हजार ५ जना ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिइएको खप्तडछान्नाका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।


‘प्रायशः गाउँ जाँदा चिसोका समय सबैभन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको देखेँ । ज्येष्ठ नागरिकको जाडोमा मल्हम लगाउन १-१ वटा कम्बल कोसेली वितरण गरिएको हो’, रोकायाले भने ।

 

कम्बल पाएका ज्येष्ठ नागरिकले जनप्रतिनिधिसामु खुसीका आँसु झारे । सरकारले वृद्ध भत्ता, कम्बल वितरणजस्ता काम गरेकाले आफूहरू छोराछोरीबाट अपहेलित भए पनि बाँच्न सहज भएको उनीहरूको भनाइ छ ।


अध्यक्ष रोकायाले ज्येष्ठ नागरिकलाई घरघरै गएर वर्षमा २ पटक स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आएको बताए ।

 

कम्बल वितरण कार्यक्रममा भेटिएकी वडा नम्बर १ कि कौसिला कामी धरधरी रोइन् । उनले श्रीमान बितेको २६ वर्ष भइसकेको र सन्तान पनि कोही नभएको समयमा स्थानीय सरकारले बूढाबूढीले ख्याल गरेकामा गाउँपालिका प्रमुखलाई धन्यवाद दिइन् । 

 

वडा नम्बर ४ की ७८ वर्षीया बिस्ना सार्कीले त सरकार भगवान् भएको भन्न भ्याइन् । उनले कम्बल बुझ्दै भनिन्, ‘हामीजस्ता बेसहाराको उपचारका लागि घरमा डाक्टर बोलाएको छ । चिसोमा कम्बल दिएको छ । भत्ता पनि घरमै आएर दिएको छ ।’