close

आमाले छाडेपछि चुलो बलेन, मागेको अन्नले कति दिन बाँच्नू ?

आमाले छाडेपछि चुलो बलेन, मागेको अन्नले कति दिन बाँच्नू ?

Trulli
ADVERTISEMENT

बाजुरा– दैव पनि कति निष्ठुरी । न मार्न सक्यो, न त बचाउन नै । निर्दयी मनमा दनदनी आगो बल्छ, आँसु बर्सिन्छ । आमाबाउसँग रमाउने, दुःख–सुख बाँड्ने, मीठो–मसिनो खाने सपना हिमाली गाउँपालिका वडा नम्बर ६ धिमका अनाथ दाजुभाइ वीरबहादुर ल्वार र अर्जुन ल्वारको थियो ।

 
दलित समुदायका उनीहरूको मन कहिल्यै हर्षित छैन । आमाले छाडेर गएको दिनदेखि नाबालक दाजुभाइको घरमा चुलो बल्नसमेत छाडेको छ ।

 

बाजुराका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा दुर्गम तथा विकट पालिकाको रूपमा हिमाली गाउँपालिका रहेको छ । यो गाउँपालिकामा सडक यातायात सहज छैन । एक बस्तीबाट अर्काे बस्तीसम्म पुग्न १ दिनको पैदल दूरी छ । वडा नम्बर ६ को धीम बस्तीका २ जना नाबालक ल्वार दाजु र सोही गाउँका नाबालक प्रदीप ल्वार खानकै लागि मागिहिँड्ने बाध्यतामा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धीम गाउँसम्म पुग्न गाडीमा करिब ४ घन्टा लाग्ने गर्छ । कोल्टीबाट आइतबार बिहान ७ बजे फिल्ड रिपोर्टिङका लागि हिँडेका हामी ११ बजे धीम गाउँ पुगियो ।

 

स्थानीयसँग खानेपानी, बत्ती, शिक्षा, बाटोघाटोलगायत समस्याबारे कुराकानी गर्दै थियौँ । नजिकै आएर १ बालकले आफन्तसँग सोधे, यिनी को हुन् ? उनको कानेखुसी सुनिरहेका थियौँ । ‘हामीलाई केही दिन आएका हुन् ? मेरो घरमा खाने केही छैन । मेरा आमाबुबा छैनन् । हामी भोकै बसेको पनि महिनौँ दिन भइसक्यो’, ती बालकले पीडा पोखे ।


दाइ पल्लो गाउँ साँझका लागि पीठो माग्न गएको नाबालक अर्जुन ल्वारले बताए । मसँगैका सहकर्मी महेश कार्कीले पनि ल्वारको भोको आवाज सुन्यौँ । लगत्तै मैले १ सय रुपैयाँ निकालेर चाउचाउ किनेर खान भनेँ । उनी रुँदै नजिकको पसल गए र ५० रुपैयाँको एक प्याकेट चाउचाउ किनेर ल्याए । आधा खाए, आधा दाइका लागि राखिदिए । मैले सोधेँ, ‘बाबु दाइ कहाँ छन् ?’ उनले भने, ‘दाइ पोल्ले गाउँमा बेलुकाका लागि पीठो, चामल माग्न गएको छ । खाने कुरा केही छैन ।’

 

१३ वर्षका नाबालक दाइ वीरबहादुर र ११ वर्षे भाइ अर्जुनका बाउ खड्के ल्वार बितेको १० वर्ष पुग्यो । बाउ बितेपछि आमा अर्काे बिहे गरेर गएको पनि ८ वर्ष पुग्यो । बाउ बितेको २ वर्षपछि नाबालक दाजुभाइलाई छाडेर आमा अर्कैसँग पोइल गइन् ।

 

‘बाउ र आमाको अलिअलि याद आउँछ । बाउ नमरेको भए सायद आमा पोइल जाने थिइनन् । हामीसँगै हुन्थिन् होला । आजभोलि अलिअलि बुझ्ने भएका छौँ तर न आमा छन्, न त बाउ । नजिकैका छरछिमेकी, साथीहरूले आमाबुबा भनेर बोलाउदा हामी दुवै दाजुभाइ घरको कुनामा गएर रोएर बस्छौँ । अहिले वल्लोपल्लो घरकाले तिम्रा बाउ बिरामी भएपछि उपचार गर्ने पैसा नपाएर अकालमा मरेका हुन् भन्छन्’, नाबालक अर्जुनले भने ।


 
सानो हुदा गाउँले १–२ माना दिएकाले बिहान–बेलुका खाने गरेको र नभएको दिन भोकै सुत्ने गरेको उनले बताए । अरूले दिएको १ मानाले ३–४ छाक टार्ने गरेको उनले सुनाए । दाइ भोकै बसेर मागेको अन्न आफूलाई मात्र खुवाउने गरेको उनको गुनासो छ । दाजुभाइद्वयले बिहान–बेलुका दैनिक ज्याला–मजदुर गरेर गाउँ नजिकैको बडिमालिका मावि धीममा पढ्दै आएको स्थानीय बाजे नाता पर्ने गिन्डे ल्वारले बताए ।

 

गाउँ आएका विकास योजनामा दुवै भाइ काम गर्न जाने र त्यही पैसाबाट कापी, कलम, कपडा र गुजारा गर्ने गरेको ल्वारले सुनाए । १६ वर्षमुनिकालाई काममा नलगाउने सरकारको नीति भए पनि बाँच्नकै लागि २ भाइले गाउँमा काम गर्दै आएको स्थानीय बताउँछन् । 

 
‘शनिबार दुवै दाजुभाइ वल्लोपल्लो गाउँ अन्न माग्न जाने गरेका छौँ । बाँकी अरू दिन स्कुल जान्छौँ । बडिमालिका माविमा हामी दुवैले ५ कक्षामा पढ्छौँ’, अर्जुनले भने । दुवैले कहिले सडकमा गिटी कुटेर खाने, कहिले अरूको काम गरेर आएको चामलपीठोले छाक टार्ने गरेको स्थानीयले बताए । कुनै दिन मागेर पनि अन्न नपाएपछि कुनै बेला ४–५ दिनसम्म भोकै बसेको अनुभव उनले सुनाए । ‘झोेपडीको घर छ । पानी परेको दिन भत्किन्छ कि भनेर रातैभरि सुत्दैनौँ’, उनले भने ।

 
आफ्नो जमिन नभए पनि घरछिमेकीको सहयोगले बाँचेका उनीहरूलाई झन् समस्या थपिएको छ । केही समय काकाकाकीसँगै बसे पनि उनीहरू तराई झरेपछि झनै दुःखमा परेको स्थानीय आफन्त नन्दसिहं रोकायाले बताए ।


 
अर्का नाबालक प्रदीप ल्वारको पनि अवस्था उस्तै दुःखदायी । उनी बडिमालिका मावि धीममा कक्षा ६ मा अध्ययनरत छन् । १२ पुग्न नपाएका ल्वार सानैमा टुहुरा भए । बाउ चिन्या ल्वार बितेको ९ महिना र आमा बितेको ७ वर्ष भइसकेको छ । आमाबाउले संसार छाडेपछि प्रदीप विचल्लीमा परेका हुन् । बाआमा बितेपछि स्थानीय बाज्या नाता लाग्ने वाच ल्वारले आप्mनो घरमा प्रदीपलाई राखेको सुनाए ।