close

गाउँटोल पुगेर स्यानिटरी प्याड बाँड्दै नगर प्रमुख

गाउँटोल पुगेर स्यानिटरी प्याड बाँड्दै नगर प्रमुख

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले नगरका टोलटोलमै पुुगेर स्यानिटरी प्याड र सफाइ सामग्री वितरणमा लागेका छन् ।

 

नगरपालिका तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा जुटाइएको सामग्री बोकेर नगरप्रमुख शाह टोलटोलमै पुगेका हुन् ।

 

नगरपालिकाको वडा नम्बर १ का २ सय २९ दलित घरपरिवारका महिलालाई स्यानिटरी प्याड र स्वच्छता सामग्री वितरण गरिएको उनले जानकारी दिए । नगरपालिकाका २७ जना स्वास्थ्य स्वयंसेविका तथा उक्त वडाका अन्य ९४ गरी ३ सय ५० घरपरिवारका महिलालाई सामग्री हस्तान्तरण गरेको नगरप्रमुख शाहले बताए ।

 

महिनावारी स्वच्छता सामग्री साबुन, स्याम्फु, कोलगेट, नङ कटर, इनर गार्मेन्ट र सल वितरण गरेको नगरपालिकाका रोजगार संयोजक प्रदीप साउदले जानकारी दिए ।
 
सरकारले विद्यालयमा अध्ययनरत छात्राहरूलाई अनिवार्य स्यानिटरी प्याडको व्यवस्था गरेको छ । तर, बूढीगंगाले भने पछाडि परेका वर्ग र आर्थिक अवस्था कमजोर भएका महिलालाई पनि ती सामग्री बाँडिरहेको छ । 

 

‘विपन्न तथा पछाडि परेका महिलालाई सफाइ सामग्री वितरण गरिएपछि स्वास्थ्य अभियानमा टेवा पुग्ने ठानेका छौँ’, नगर उपप्रमुख तारा थापाले भनिन् ।


 
स्थानीय जौमति विक महिनावारी भएका बेला स्यानिटरी प्याड प्रयोग गर्नुपर्छ भनिए पनि तर अहिलेसम्म किन्न नसकिएको बताउँछिन् । नगरपालिकाले नै दिएपछि अब सहज हुने उनको भनाइ छ ।

 

सोही गाउँका २ सय २९ परिवारका दलित महिलाले स्यानिटरी प्याड तथा स्वच्छता सामग्री पाएको उनले बताइन् । नगरपालिकामा महिनावारी स्वच्छता सामग्री सहयोगमा विभिन्न गैरसरकारी संस्थाले साथ दिएका छन् । 

 

हाल नगरपालिकाभरिका विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण भइरहेका छन् । यसले गर्दा महिनावारी भएका बेला विद्यालय नआउने छात्राको पढाइ निरन्तर हुन थालेको छ ।