close

आगलागीले नासिए बाजुराका वन 

आगलागीले नासिए बाजुराका वन 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका विभिन्न २९३ हेक्टर वनजंगलमा आगलागी भएको छ । केही दिनदेखि लाग्दै आएको डढेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । 

 

हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।

 

बाजुराका अधिकांश जंगलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन नसकेको जिल्ला वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभारचन्द अयडीले बताए ।


 
बाजुराको सबैभन्दा बढी बडिमालिका नगरपालिका वडा नम्बर १ को भेरालमाडौं सामुदायिक वनमा क्षति पुगेको अयडीले जानकारी दिए । सो वनमा १ सय २० हेक्टर जंगलमा क्षति पुगेको छ ।

 

त्यसैगरी सोही नगरपालिका वडा नम्बर २ को सल्लेना सामुदायिक वनमा ६० हेक्टर, जाल्पा जनशक्ति कृषि सामुदायिक वनमा ५० हेक्टर, बडिमालिका नगरपालिका वडा नम्बर ७ को कोस्याडा सामुदायिक वनमा २ हेक्टर, सोही वडाको खिरिडा भुजन्तोला सामुदायिक वनको २ दशमलव ५ हेक्टरमा आगलागीले क्षति भएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।


 
बडिमालिका वडा नम्बर १ को जाल्पादेवी सामुदायिक वनमा ३ हेक्टर, पिनालेक सामुदायिक वनमध्ये वडा नम्बर १ मा २ हेक्टर, वडा नम्बर २ को विनिकोट सामुदायिक वनमा १५ हेक्टर क्षेत्रमा आगलागी भएको छ ।

 

यस्तै, वडा नम्बर ४ को भोडीओडार सामुदायिक वन १० हेक्टर, गजयापातल बैठल सामुदायिक वन वडा नम्बर ८ र ९ मा ४ हेक्टर, घटला सामुदायिक वन बडिमालिका वडा नम्बर ३ मा ४ हेक्टर, कालिका सल्लेरी सामुदायिक वन वडा नम्बर ८ मा ३ हेक्टर, थापाथली सामुदायिक वन वडा नम्बर ८ मा ५ दशमलव शून्य ५ हेक्टर र मष्टेश्वरी सामुदायिक वन वडा नम्बर ८ मा १ दशमलव ५ हेक्टर जंगलमा आगलागी भएको तथ्यांक छ ।


 
बूढीनन्दा नगरपालिका वडा नम्बर २ मा रहेको बाहुनीमाडौं सामुदायिक वनमा ३ हेक्टर, नुरी सुगरखाल सामुदायिक वन वडा नम्बर २ मा २ दशमलव ५ हेक्टर जंगलमा क्षति पुगेको जिल्ला वन डिभिजनले बताएको छ ।

 

यस्तै, जगन्नाथ गाउँपालिकाको काउचा झुणकाटिया सामुदायिक वनमा २ दशमलव ५ हेक्टर जगंल क्षति भएको छ भने गौमूल गाउँपालिका वडा नम्बर ५ मा रहेको पोख्रा गड्यापातल सामुदायिक वनमा २ हेक्टर वनमा आगलागीबाट क्षति पुगेको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।


 
गौमूल गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको तरपरे खर्क सामुदायिक वनको ५ दशमलव शून्य ५ हेक्टर जंगलमा क्षति भएको छ भने सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको सूर्योदय सामुदायिक वनमा १ दशमलव ५ हेक्टर जंगलमा आग्लागीले क्षति पुगेको छ । 

 

जिल्लाभित्रका सामुदायिक तथा निजी वनमा आगलागीको क्रम अझै नरोकिएको वन डिभिजन कार्यालयका निमित्त प्रमुख अयडीले बताए ।


 
वनजंगलमा आगलागी भएपछि बोट-बिरुवा, जंगली जनावरका साथै खर छानाका घर र मानवीय क्षतिसमेत भएको छ । महिना दिनअघि बडिमालिका नगरपालिका वडा नम्बर ३ की एक महिलाको आगो निभाउन जाने क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो । 

 

केही दिनअघि सल्लेना सामुदायिक वनमा लागेको आगोले ६ वटा खर छाना भएका र १ जस्तापाताको घरसमेत जलेर नष्ट भएको छ ।