close

बाजुराको अम्कोट पहिरोको उच्च जोखिममा

बाजुराको अम्कोट पहिरोको उच्च जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको साँफे-मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा परेको छ । बूढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोट क्षेत्रको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफेबगर अछामले जानकारी दिएको हो ।

 

वैकल्पिक बाटो नखोले बर्खामा सडक बन्द हुने देखिएको छ । गत वर्ष बर्खाको समय सोही ठाउँमा ४ महिनासम्म सडक अवरुद्ध बनेको थियो ।

 

हिउँद समय विभागले सडक बनाए पनि अहिले पनि पहिरोले सडक भासिएर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । ‘हिउँदमै सडक भासिएको छ । बर्खामा बन्द हुने देखियो । वैकल्पिक मार्गका लागि सडक विभागसँग पहल भए पनि निष्कर्ष आएको छैन’, उनले भने ।


 
वैकल्पिक बाटोका लागि करिब ५ किलोमिटर माथि नयाँ मार्ग खोल्ने भनिए पनि काम सुरु भएको छैन । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ ।

 

गत बर्खामा सडक अवरोधले यी क्षेत्रमा दैनिक उपभोग्य सामान, औषधीको अभाव भएको स्थानीय व्यापारी हंसबहादुर सिंहले बताए ।


त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमाबाट आएको पहिरोले बूढीगंगा नदीलाई थुन्दै आएको छ । अर्कोबाट पहिरो आएर नदी थुनिएपछि बूढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटको भागमा कटान गरेसँगै सडक भासिएको हो । 

 

गत भदौमा सडक भासिँदा १ जनाको मृत्यु भएको थियो । बूढीगंगा नगरपालिका वडा नम्बर २ अम्कोटका ७ परिवार विस्थापितसमेत भएको स्थानीय दीपक खत्रीले बताए ।

 

विस्थापित हुने परिवारमा बूढीगंगा नगरपालिका वडा नम्बर १ का टीकाराम पाध्याय, मीमाराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय रहेका छन् । 

 

विस्थापित परिवार अमकोटको माथि गाउँ सरेका छन् । परिवार विस्थापित हुनुका साथै तिनको खेतीयोग्य जमिनसमेत पहिरोले बगाएको थियो ।

३ वर्षदेखि साँफे-मार्तडी सडक अवरुद्ध हँुदै आएको छ । सडक जोखिममा परेको सम्बन्धित निकायलाई जानकारी भए पनि कसैले वास्ता नगरेको नागरिक अगुवा शेरबहादुर शाहीले जानकारी दिए ।

 

साँफेबगर डिभिजन कार्यालयका प्रमुख ललित खनालले सडक विभागसँग पहल गरिरहेको र दीर्घकालीन व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको बताए । भूगर्भविद् आएर पनि १ चरणमा अध्ययन गरिसकेको उनको भनाइ छ । 

 

भासिएको ठाउँमा सडक निर्माण गर्न करिब ३ अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरिएको सडक विभागले बताएको छ ।