close

गरिबीले जेलिँदै बाजुराः अतिगरिबको सूचीमा ३५ प्रतिशत 

गरिबीले जेलिँदै बाजुराः अतिगरिबको सूचीमा ३५ प्रतिशत 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरा दिनप्रतिदिन गरिबीले जेलिँदै गएको छ । सुक्खा खडेरी, बाढीपहिरोलगायत चपेटाले बाजुरामा गरिबी दर बढदै गएको पाइएको हो । बाजुराले सबैभन्दा बढी गरिब बस्ने जिल्लाको परिचय पाएको छ । जिल्लामा बजेट आए पनि सदुपयोग हुँदैन । मानव विकास प्रतिवेदन २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.१ प्रतिशत बाजुराको जनसंख्यालाई गरिबीको रेखामुनि देखाएको छ ।


 
गरिब घरपरिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिवेदनमा ७१.१ प्रतिशत गरिबी रहेको सार्वजनिक गरेको थियो । दुवै संस्थाको प्रतिवेदनमा सबैभन्दा गरिब जिल्लाको रूपमा बाजुरा परेको छ । नेपालीको औसत आयु ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयु ५९ दशमलव ५ प्रतिशत छ ।

 

१४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरूको अवस्था झनै दर्दनाक छ । गरिबीकै कारण अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको डा. रुपचन्द्र विश्वकर्माले बताए । गरिब घर पहिचान बोर्डका अनुसार बाजुरामा सबैभन्दा बढी घरपरिवार गरिब छन् ।

 

बाजुरामा कुल जनसंख्याको ३५ प्रतिशत अतिगरिब, २२ प्रतिशत मध्यम गरिब र १४ प्रतिशत सामान्य गरिब रहेको तथ्यांक छ । १८ वटा सूचकको आधारमा बोर्डले गाउँ–गाउँ पुगेर स्थलगत अध्ययनका आधारमा गरिबी दर पहिचान गरेको थियो ।

 

बाजुरा देशकै खाद्य संकट बढी रहेको जिल्लाका रूपमा चिनिने गरेको छ । जिल्लामा ७.५ प्रतिशत परिवार भूमिहीन छन् । ३ महिनासम्म खान पुग्ने परिवार संख्या ३८.७ प्रतिशत, ६ महिनासम्म २७.४ प्रतिशत, ९ महिनासम्म ७.६ र बाह्रै महिना खाना पुग्ने ४.४ प्रतिशत परिवार रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

 

बाजुरामा ९ वटा स्थानीय सबैभन्दा बढी गरिबी स्वामीकार्तिक गाउँपालिकामा ७५ प्रतिशत रहेको छ । कम गरिबी गौमूल गाउँपालिका ३२.७ प्रतिशत छ । अन्य स्थानीय निकायमा भने ५० प्रतिशत बढी गरिबी दर रहेको छ ।
 
बाजुरा प्रदेश नम्बर ‘क’ का प्रदेश सांसद बलदेव रेग्मीका अनुसार जिल्लाको गरिबी दर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । धेरैजसो बाजुरेलीले भारतमा काम गरेर परिवार पाल्ने गरेका छन् । कोभिडले झनै संकट निम्त्याएको छ । भारतमा पनि काम नपाए दैनिक छाक टार्न धौ–धौ हुने अवस्था रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ पाडीका धनबहादुर रोकाया बताउँछन् ।