close

४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा 

४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा 

Trulli
ADVERTISEMENT

बझाङ– बझाङको थलारा गाउँपालिकामा यो वर्ष खडेरीले नगदेबालीमा मात्रै ९३.२५ प्रतिशत क्षति भएको एक तथ्यांकले देखाएको छ । सुक्खा खडेरीले थलारा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा ९३.२५ प्रतिशत ह्रास आएको सूचना संकलनमा खटिएको टोलीले निष्कर्ष निकालेको हो ।

 

वडा नम्बर १ को थापागाउँका ३०, वडा नम्बर २ बगाडाका ३४, वडा नम्बर ३ धामीगाउँका ३९ र वडा नम्बर ४ डिख्लाका ८२ गरी १ सय ८२ घरधुरीबाट तथ्यांक संकलन गरिएको सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले जानकारी दिए ।

 

यो वर्ष लामो खडेरीले सबैतिर अन्नबालीमा ह्रास आए पनि थलाराका वडा नम्बर १, २, ३, र ४ का बस्तीमा बढी प्रभाव परेको छ ।

 

तथ्यांक संकलन टोलीका अनुसार यो वर्ष भोकमरी हुने हुँदा तत्काल सरकारले राहत व्यवस्था, सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराइदिनुपर्ने र आगामी वर्ष खेतीका लागि बिउसमेत नरहेकाले निःशुल्क गहुँको बिउ उपलब्ध गराउनुपर्ने अवस्था छ । 

 

खडेरीले पानीका मुहानसमेत सुक्दै गएको स्थानीयले गुनासो पोखेको बझाङ जिल्ला खाद्य अधिकार सञ्जाल बझाङका संयोजक जगदीश रोकायाले बताए । थलाराका अधिकांश क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने हुँदा बढी प्रभाव परेको हो । 

 

तथ्यांक संकलन टोलीमा सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक रोकाया, बझाङ जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक जगदीश रोकाया र थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का थिए ।

 

जिल्लाभर खाद्य संकट

 

खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, बित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएको छ ।

 

सुर्मा, मस्टा, तल्कोट र साइपाल गाउँपालिकामा पनि लगाइएको हिउँदे बाली खडेरीको चपेटामा परेको छ । ‘पहिला मानो छरे मुरी फल्ने ठाउँमा यो पाला पाथी बिउले मानो पनि उब्जिएन,’ जयपृथ्वी नगरपालिका कैलाशका भरत कामीले भने, ‘रुडा (खडेरी) ले गर्दा माटो खरानीजस्तै भएको छ । आदै (आर्द्रता) नभएपछि उम्रेको बिउ पनि सुक्यो । हामी भोकै मर्ने भयौँ ।’

 

सामान्य अवस्थामा वार्षिक १०/१५ क्विन्टल हिउँदे बाली फलाउने किसानको खेतमा यो वर्ष १ क्विन्टल पनि उब्जनी नभएको उनले सुनाए । ‘सिमसार (छिपछिपे पानी भइरहने खेत) तिर खेत हुने कसैकसैले १–२ कठ्ठा (५० किलोको बोरा) भित्र्याए होलान् । धेरैजसोले अन्नको गेडोसम्म देख्न पाएनन्,’ उनले भने ।

 

कतिपय गाउँका किसानले उम्रिएको बाली खेतमा सुक्न थालेपछि फल नलाग्दै घाँसको रूपमा वस्तुभाउलाई खुवाएको र कतिपयले खेतमा आगोसमेत लगाएका छन् । 

 

१४ हजार परिवारमा खाद्य संकट

 

सेती, कालंगा, सुनिगाडलगायत नदी र खोलाको तटमा रहेका तथा बाह्रैमास सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादन ९० प्रतिशतदेखि शतप्रतिशतसम्म घटेको जिल्ला कृषि ज्ञान केन्द्रले बताएको छ ।


जिल्लाभरि १५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरीलगायत बाली खेती गरिएकामा ६ हजार २ सय २४ हेक्टर क्षेत्रफलको उत्पादन शून्य रहेको ज्ञान केन्द्रको तथ्यांक छ ।

 

खडेरीका कारण ३२ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली नष्ट भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

 

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ३५ प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको कुनै असर नदेखिए पनि सिँचाइ सुविधा नभएको जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।

 

‘सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ,’ उनले भने, ‘पहाडी र उच्च पहाडी भेगका १४ हजारजति घरधुरीलाई खाद्य संकट हुने भएको छ ।’

 

जिल्लाको ४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा पर्ने निश्चितजस्तै भएको उनले बताए । सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने गरेको र जिल्लामा उत्पादित खाद्यान्नले नपुगेर ७ हजार मेट्रिक टन अपुग हुने गरेको उनको भनाइ छ ।

 

‘यो वर्ष घटेको परिणाम जोड्ने हो भने करिब १३ हजार ५ सय मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ । यसरी उत्पादन घट्दा कृषिमै पूर्ण रूपमा निर्भर रहेका, रोजगारी नभएका, न्यून आयस्रोत भएका परिवारले खाद्य संकटको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

खडेरीको मारमा परेको ठाउँलाई सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरेर कुनै न कुनै रूपमा यहाँको समस्या तत्काल सम्बोधन गर्नुपर्ने उनले सुझाए ।