close

पालना नगरेरै सकियो बलेवाकाे निषेधित आदेश

पालना नगरेरै सकियो बलेवाकाे निषेधित आदेश

Trulli
ADVERTISEMENT

बागलुङ- विद्यालय तहका बालबालिकामा कोरोना संक्रमण देखिएपछि बागलुङको बलेवालाई निषेधित क्षेत्र घोषणा गरियो । शुक्रबारसम्म यो आदेश कायम थियो । प्रशासनले लगाएको आदेश स्थानीयले भने उल्लंघन गरेर बिताए । 


कहिले वडाध्यक्षले सिफारिस लिएर सेवाग्राहीलाई सदरमुकाम ल्याएको विषयले चर्चा पायो भने कहिले योजना सम्झौता भन्दै उपभोक्ता र जनप्रतिनिधि जबर्जस्ती सदरमुकामा धाए ।

 

निषेधाज्ञा उल्लंघनकै क्रममा शुक्रबार फरक दृश्य देखियो । निषेधित क्षेत्रबाटै २-३ वटा विवाहको जन्ती बागलुङ बजारमा आए । कोही कालिका मन्दिरको पार्टी प्यालेसमा विवाहमा सामेल भए भने कोही कालीमाटी पुगे । 

 

८ वैशाखदेखि कालिका मन्दिरमा प्रवेश निषेध गरिएको छ । तर, गेटको पार्टी प्यालेसमा विवाह भोज चलिरहेको थियो । सदरमुकामा अन्य पार्टी प्यालेस पनि भोजभतेर गर्न रोकिएका छैनन् ।

 

बलेवाबाट विवाहका लागि आएको बसलाई मालढुंगाको प्रहरीले रोक्यो । बसबाट २० जना ओरालेपछि १० देखि १५ जनालाई जान दियो । बाटैमा अलपत्र परेका २० जनाले कुश्माबाट आएको लोकल बस भेटे । उक्त बसमा यसअघिनै झन्डै ३० यात्री थिए । प्रहरी चौकीबाट १० मिटरको दूरीबाट ती जन्ती लोकल बसमा चढे । बसभित्र झन्डै ५० यात्री पुगे । विवाहको बसमा १५ जना मात्रै बस्न दिएको प्रहरीले उक्त बसमा ५० जना पुगेको वास्तै गरेन । 

 

कोरोना संक्रमणको त्रास २५ जना एकै ठाउँ भेला भए मात्र हुने हो वा जुनसुकै भीडमा सर्ने भन्ने कुरामै प्रहरी र प्रशासनले बेवास्ता गरेको भेटिएको स्थानीय विष्णु चापागाईंले बताए । ‘निषेधित क्षेत्र घोषणा भएको भनेर विद्यालय बिदा भए पनि म गाउँ गएको छैन । गाउँबाट धमाधम जन्ती आएका छन्,’ उनले भने, ‘नागरिक पनि प्रहरीलाई छलेपछि कोरोना जितेझैं गर्न थालेका छन् ।’

 

निषेधित क्षेत्रबाट आएका जन्ती सयौँ भए पनि स्वागत गर्ने पद्धति गलत भएको उनले बताए । संक्रमणको त्रासबीच दैनिक विवाह र भोजभतेर भइरहेका छन् । चौरासीपूजामा पनि सयौँ भेला भएर भोज खाएको तस्बिर सामाजिक र राजनीतिक अगुवाले नै सार्वजनिक गरिरहेका छन् ।

 

यो विषयमा प्रशासनले चासो राखेको छैन । ‘चासो हरेक नागरिकले राख्ने हो । जबर्जस्ती बन्द गरेर हुँदैन । घोषणा भयो भने पसल बन्द गर्न तयार छौँ,’ उद्योग वाणिज्य संघ बागलुङका सदस्य गणेश लम्सालले भने, ‘जोखिमसँगै बजारमा झन्-झन् भीड बढिरहेको छ ।’ 

 

प्रशासनले जारी गरेको निषेधित क्षेत्रको समय शुक्रबार बेलुकी सकिएपछि थप आदेश जारी भएको छैन । संक्रमणको दर बढिरहेको छ । 


गत वर्षझैं कन्ट्याक्ट ट्रेसिङ नभई लक्षण देखिएको अवस्थामा मात्रै पिसिआर गरिएकाले संक्रमण ग्रामीण क्षेत्रका घरघर पुगिसकेको स्वास्थ्यकर्मीको आशंका छ । घरघरलाई सुरक्षित क्वारेन्टाइन र आइसोलेसनको रूपमा बसाल्न यो वर्ष छुट्टै क्वारेन्टाइनमा ध्यान नदिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

 

सरकारी कार्यालयमा पनि संक्रमणको जोखिम न्यूनीकरणका मापदण्ड खासै पालना भएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले भने बाहिर बाकस राखेर हरेक कार्यालयको कागजात राख्ने व्यवस्था गरेको छ ।

 

कार्यालयले पठाउने पत्र पनि बाहिर ल्याएपछि सम्बन्धित कार्यालयले लैजान थालेका छन् । सीधै कार्यालयमा प्रवेश नगराउँदा संक्रमणको जोखिम कम हुने कोष नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

 

जिल्लाका अन्य कार्यालयमा अहिलेसम्म सोझै प्रवेश भइरहेको छ । गत वर्ष हात धुने व्यवस्था गरेका कार्यालयले अहिले वास्ता गर्न छाडेका छन् ।

 

व्यवसायमा सतर्कता अपनाउन आग्रह 

 

बागलुङ उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले कोरोना संक्रमणबाट बच्न नागरिक र व्यवसायीलाई आह्वान गरेका छन् । दुवै संस्थाले विज्ञप्ति निकालेर हरेक स्थानमा सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको हो ।

 

कोरोना संक्रमणबाट बागलुङ जोखिमको क्षेत्रमा सूचीकृत भएकाले विज्ञप्तिमार्फत सबैलाई सचेत बनाइएको हो ।  बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा ६ वैशाखमा सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनिवार्य पालनामा जोड दिइएको छ ।

 

उनीहरूले सकेसम्म घरबाहिर कोही पनि ननिस्कन र निस्कनै परे मापदण्ड पालना गर्न आग्रह गरेका छन् । होटल, उद्योग, व्यवसाय, डिपार्टमेन्ट स्टोर पार्टी प्यालेसजस्ता स्थानमा बढी सर्तकता अपनाउन सुझाइएको छ ।