close

कोरोनाको बेवास्ता गर्दै मुस्ताङमा भारतीय चलचित्रको छायांकन

कोरोनाको बेवास्ता गर्दै मुस्ताङमा भारतीय चलचित्रको छायांकन

Trulli
ADVERTISEMENT

मुस्ताङ- कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि मुस्ताङमा पनि त्रास बढेको छ । पहिलो पटक १ जना संक्रमित महिलाको मृत्यु भएपछि मुस्ताङ शोकमग्न छ ।

 

हिमालपारिको मुस्ताङ लामो समय सक्रिय संक्रमित नरहेको जिल्लाका रूपमा चिनियो । अहिले स्थानीय स्तरमै कोरोना महामारी फैलिएपछि १२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । 


केही साताअघिसम्म ग्रीन जोनमा परेको मुस्ताङमा पर्यटकीय गतिविधि बढेसँगै कोरोनाको जोखिम बढेको थियो । चैतेदसैँ, औँशी, नयाँ वर्ष र रामनवमीलगायत पर्वमा धार्मिक पर्यटक मुस्ताङ भित्रिएका थिए । सोही कारण मुस्ताङमा कोरोना जोखिम बढेको अनुमान छ ।

 

छिमेकी भारतसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएपछि मुस्ताङको सिसिएमसी आकस्मिक बैठकले गत ११ वैशाखदेखि मुक्तिनाथ मन्दिर बन्द गर्‍यो भने विवाह, व्रतबन्ध, भोजभतेर, सभा-समारोह र धार्मिक मठमन्दिर, गुम्बा र चर्चमा गरिने नियमित पूजापाठबाहेक सबै गतिविधिमा रोक लगायो ।

 

तर, कोरोना भाइरसको उच्च जोखिम र यसको नियन्त्रणका लागि सरकारी मापदण्डलाई चुनौती दिँदै १६ वैशाखदेखि भारतीय जम्बो चलचित्र छायाकन टोली मुस्ताङमा छ । भारतमा कोरोनाको जोखिम उत्कर्षमा पुगेका बेला भारतीय चलचित्रकर्मी मुस्ताङ आएपछि स्थानीयमा कोरोनाको त्रास बढेको छ ।

 

सञ्चार मन्त्रालयको अनुमति लिएर छायाकन गर्न आएको बताउने उनीहरूले खुलेआम मुस्ताङमा छायाकन गरिरहेका छन् । मुस्ताङमा भारतीय चलचित्र छायाकनका लागि आएको उक्त टोलीमा करिब ५०/६० जना छन् । यीमध्ये ४-५ जना नेपाली कलाकार पनि छन् ।

 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जम्बो भारतीय चलचित्रकर्मीको टोलीले सञ्चार मन्त्रालयको अनुमति लिएको र चलचित्र छायाकनलाई सरकारले रोक लगाइनसकेकाले जिल्ला प्रवेशको अनुमति दिएको बताएको छ । सहायक प्रजिअ जगदीश अर्यालले भारतीय चलचित्रकर्मी टोलीलाई गाउँबस्तीमा नभई बस्तीभन्दा पर छायाकन गर्न सुझाएको बताए ।

 

महँगो लागतको सिनेमास्कोप उक्त भारतीय चलचित्रको छायाकन टोलीले मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, स्याङ, मार्फा, टुकुचे, ढुम्बाताल र नाउरीकोटलगायत गाउँमा सुटिङ गर्ने जनाए पनि कोरोना जोमिखका कारण स्थानीयले सुटिङ गर्न दिएनन् ।

 

प्रशासनले बस्तीदेखि टाढा भने पनि उनीहरू बस्ती नजिकै सुटिङ गर्न चाहन्थे । तर, प्रत्येक गाउँमा अवरोधपछि उनीहरूले निर्धक्क सुटिङ गर्न नसकेको बताउँछन् । मुस्ताङको घरपझोङ वडा नम्बर ३ पुथाङ एयरपोर्टका २ वटा होटलमा बसेका उनीहरूले सुटिङमा एउटा बस र ५ वटा स्कर्पियो गाडी भाडामा लिएका छन् ।

 

आफूहरू पिसिआर रिपोर्टसमेत लिएर आएको बताउने उनीहरूले सुटिङ स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना नगरी बेवास्ता गरेको स्थानीय बताउँछन् । स्थानीयले पर्यटन प्रवर्द्धनमा चलचित्र छायाकनले महत्त्वपूर्ण टेवा पुर्‍याउने भनिए पनि कोरोना महामारीको समय सबै खाले पर्यटकीय गतिविधि रोक्न माग गरेका छन् ।