close

एम्बुलेन्स छ, बाटो छैन: ऋण खोजेरै हेलिकोप्टर चार्टर गर्छन् संक्रमित

एम्बुलेन्स छ, बाटो छैन: ऋण खोजेरै हेलिकोप्टर चार्टर गर्छन् संक्रमित

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेश सरकारले २ वटा भेन्टिलेटरसहित आईसियु कक्ष बनाउन गत वर्ष नै बजेट दियो । उपकरण किनिए पनि जनशक्रि अभावले थन्क्याएरै राखिया । कारण, भेन्टिलेटर राख्ने ठाउँ नै छैन । अस्पताल भर्खर बनिरहेको छ । न त आइसियु कक्ष नै छ । अक्सिजन प्लान्टका लागि दिइएको पैसा अहिलेसम्म खर्च भएको छैन ।

 

त्यतिबेलै गाडी किन्न सबै अस्पतालमा दिइएको पैसा भने १ महिना नबित्दै खर्च भयो । सरकारले गठन गरेका अस्पताल व्यवस्थापन समिति स्वास्थ्य उपकरण र अस्पतालको हितभन्दा विलासी भोगका लागि आएका हुन् । ११ वटै जिल्ला अस्पतालले गत वर्ष नै गाडी किनेका छन् । उपकरण किन्न उनीहरूले चासो दिएनन् । 

 

मनाङ र मुस्ताङमा त्यो नियतिले नागरिक दुःखमा छन् । प्रदेश सरकारले पठाएका २ मध्ये एउटा भेन्टिलेटर जोडिएको छ । त्यो पनि प्राविधिक नभएकाले त्यसै थन्किएको छ । मनाङमा अहिले ३९ जना सक्रिय संक्रमित उपचाररत छन् । डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि निकै न्यून । कोभिडको बढ्दो ग्राफ थेग्न मुस्किल पर्दै गएको छ । 

 

बिरामीहरू संक्रमण देखिएपछि महँगो मूल्यमा हेलिकोप्टर चार्टर गरेर पोखरा र काठमाडौंका अस्पतालमा पुगेका छन् । ‘एउटा भेन्टिलेटर छ । प्राविधिक छैनन् । कसले चलाउने ?,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘केहि स्थानीय तहले आइसोलेसन बनाएका छन् तर डाक्टर छैनन् ।’ 

 

चामेले १० बेडको आइसोलेसन वार्ड बनाएको छ । खासै राम्रो सुविधा छैन । जिल्ला अस्पतालमा दक्ष प्राविधिक छैनन् । 

 

जिल्लामा राम्रो उपचार नभएपछि संक्रमितहरू महँगो मूल्यको हेलिकोप्टर चार्टर गरेर पोखरा र काठमाडौंमा उपचारका लागि झरेका छन् । मनाङबाट एक विदेशीसहित ४ जनाले हेलिकोप्टर चार्टर गरे । ‘एम्बुलेन्स छ । बाटो राम्रो छैन । हेलिकोप्टरमा लगिएन भने बिरामी बाटैमा गुमाउनुपर्छ,’ लामिछानेले थपे, ‘यो दुर्गमको बाध्यता हो । हामी दुखद समय बेहोरिरहेका छौँ ।’

 

मनाङमा २ वटा एम्बुलेन्स छन् । त्यहाँ अक्सिजन अभावसमेत बढ्न थालेको छ । औषधी पाउने कुरै भएन । ‘जोडेको एउटा भेन्टिलेटर मात्रै चलाउन सके पनि कति हो । आधार हुन्थ्यो । हेलिकोप्टर चढाएर पठाउनुपर्दैनथ्यो’, उनी भन्छन्, ‘मनाङबासीका लागि हेलिकोप्टर बाध्यता हो ।’ उनका अनुसार जिल्लाका स्वास्थ्यकर्मीको टोलीले पोखरामा अक्सिजन र अरू उपकरणको जोहो गरिरहेको छ । 

 

मुस्ताङमा जिल्ला अस्पतालभित्र ६ शय्याको आइसोलेसन छ । अक्सिजन सजिलो छैन । भेन्टिलेटर र आइसियु कक्ष बनेको छैन । जानेका स्वास्थ्यकर्मी पनि छैनन् ।

 

‘कोरोनाले छोपिसक्यो । सरसामान छैन । उपकरण भएर पनि जोड्ने मान्छे छैनन्’, सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले भने, ‘कोरोना निकै महँगो सावित भएको छ । मानव जीवनका डरलाग्दा दृश्य बढ्दै छन् ।’ 

 

स्वास्थ्य उपकरण र चिकित्सक नहुँदा हिमालपारिका जिल्लाका कोरोना संक्रमित हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । मुस्ताङमा यतिबेला ५५ भन्दा बढी संक्रमित छन् ।

 

४ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइएको सांसद इन्द्रधारा विष्टले जानकारी दिए । अरू ५ जनालाई पनि जिल्लामा उपचार हुन नसकेर पोखरा रिफर गरिएको छ । ‘बिरामीको उपचार जिल्लामा हुँदैन । अलिअलि समस्या बढ्यो भने दौडाउनुपर्छ’, अर्यालले भने, ‘जमिनबाट ल्याउँदा धेरै समय लाग्छ । बरु भाडा धेरै लागे पनि ज्यान बचाउनुपर्‍यो ।’

 

उनका अनुसार हेलिकोप्टर कम्पनीहरूले सामान्य समयभन्दा दोब्बर बढी भाडा असुलेका छन् । ‘पहिलेभन्दा दोब्बर महँगो भाडा छ । स्वास्थ्यकर्मीहरू पनि लगेर बिरामी ल्याउनुपर्छ भन्छन्,’ उनले भने, ‘डेढ २ लाखमा उड्ने हेलिकोप्टरले यो बेला ५ लाख रुपैयाँसम्म माग्छन् । बिरामीको ज्यान बचाउनुभन्दा पैसा ठूलो भएन ।’ 

 

यसअघिको कोभिड संक्रमणका बेला यी २ जिल्ला करिब–करिब सुरक्षित थिए । यसपालि केही सीप चलेन । कोरोना झन् माथिमाथि चढ्दै गयो । दैनिक संक्रमित थपिँदै जाँदा मानसिक त्रास उस्तै थपिएको छ । 

 

जिल्लामा राम्रो उपचार नपाएर सहर झरेका बिरामीलाई यता पनि राम्रो उपचार छैन । सबैजसो अस्पताल भरिएका छन् । पर्याप्त सिलिन्डर नहुँदा अक्सिजन अभाव सुरु भइसकेको छ ।