close

लाहुरे बाको भान्सा र पार्टी प्यालेसको सुप

लाहुरे बाको भान्सा र पार्टी प्यालेसको सुप

Trulli
ADVERTISEMENT

गुल्मी- कुनै समय कोरोना संक्रमित हिडेको बाटो अरु हिड्दैनथे  । संक्रमितको घर नै हेर्दैनथे मान्छे ।  संक्रमण मुक्त भएपछि पनि लामो समय बोलेनन् छिमेकी ।

 

अहिले समय फेरिएको छ । गाउँ र शहरमा संक्रमित धेरै भए । कोरोनाले धनी र गरिव भनेन । त्यसैले संक्रमितले पनि माया पाउन थालेका छन् । उनीहरुलाई डाक्टर तथा स्वास्थ्यकर्मीले मात्र होइन, समुदाय र नागरिकले पनि सहयोग गर्न थालेका छन् ।


पछिल्लो उदाहरण हो एभरग्रिन पार्टी प्यालेस । जसले १ जेठबाट गुल्मी अस्पालका कोरोना संक्रमितलाई दैनिक ३ पटक सुप खुवाउँदै आएको छ । बिहान मसरुम सुप, दिउँसो चिकेन र साँझ मटन सुप खुवाइदै आएको प्यालेस संचालक झविन्द्र बस्नेतले बताए ।

 

बस्नेतले १४ बर्षदेखि होटल व्यवसाय संचालन गरेका छन् । उनले महामारीका बेला आफुलाई पैसाले पुगेर नभई मानवता मात्रै प्रकट गरेको बताए । निषेधाज्ञा हटेपछि पनि गुल्मी अस्पतालमा सुत्केरी हुन आउनेहरुका लागि निःशुल्क सुप र ज्वानो पानीको व्यवस्था गर्ने उनको योजना छ ।

 

बस्नेत दैनिक ३ पटक सुप बोकेर अस्पताप पुग्छन् । यो ज्यादै चुनौतिपूर्ण काम हो । गुल्मी अस्पतालका संक्रमित, कुरुवा र स्वास्थ्यकर्मी गरी दैनिक सरदर १५ जनालाई उनले सेवा दिइरहेका छन् ।

 

उनले सुरुमा खाना पनि खुवाए । पछि गुल्मी अस्पतालले संक्रमितलाई खाना खुवाउन थालेपछि आफुले सुप मात्र दिन थालेको बस्नेतले बताए ।

 

लाहुरे बा को भान्सा 

तम्घासकै लाहुरे बाको भान्सा घर पनि अर्को उदाहरण हो । जसले १४ जेठबाट गुल्मी अस्पताल र महेन्द्र माविको आइसोलेसनका संक्रमति र उपचारमा खटिएका नर्सहरुलाई निःशुल्क नास्ता उपलब्ध गराइरहेको छ । लाहुरे बा को भान्साघरले संक्रमण अवधिभर खाजा खुवाउने योजना बनाएको छ । दैनिक १५ देखि २० जनाले निःशुल्क खाजा पाइरहेको संचालक सन्तोष क्षेत्रीले जानकारी दिए । 

 

उनले हरेक दिन दिउँसो १२ देखि ३ बजेसम्म नास्ता दिने गरेको बताए । खाजाको रुपमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुध प्रदान गरिएको छ । दैनिक फरक-खाजा खुवाउने योजना बनाएको भए पनि धेरैको मागको आधारमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुध खुवाउने गरिएको क्षेत्रीले बताए । 


सम्पत्ति भन्दा महामारीमा कमाएको धर्म नै सवैभन्दा ठुलो हुने भएकाले आफुहरुले खाजा निःशुल्क गरिएको उनी बताउँछन् ।


अमेरिकामा रहेका छयानबुटि घले, बिन्द्रा एच श्रेष्ठ घले, चन्द्र बहादुर क्षेत्री, दिपक क्षेत्री, मायादेवि क्षेत्री, चन्द्र खत्री, सन्तोष क्षेत्री, खड्ग क्षेत्री, कमल क्षेत्री, राधिका भण्डारी क्षेत्री, चन्द्र शंकर केसी र राधिका भण्डारी क्षेत्रीको पहलमा खाजा निःशुल्क गरिएको हो ।

 

क्षेत्री परिवारले र उहाँको छोरी तथा नातिनीको तर्फबाट केही अघि १३ लिटरको अक्सिजन कन्सन्टेटर प्रदान गरेको थियो । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले दुई मनकारी परिवारको असल कर्मले अस्पताल परिवारसँगै सक्रमितहरु अत्यन्तै खुसी भएको बताए ।

 

उनले महामारीमा धन र सम्पतिले सम्पन्न परिवारको एक नजर र बचन समेत नपाएको अवस्थामा मध्यम परिवारहरुको सहयोग र सद्भाव निकै उदाहरणीय भएको बताए । ‘महामारीको चपेटमा परिवारले समेत खुलेर बिरामीको हेरचाह गर्दैनन् । तर, दुई सहयोगी परिवार भगवान बनेका छन्,’ उनले भने, ‘मन ठुलो हो, सम्पत्त केही होइन ।’