close

वित्तीय संस्था खोल्दा सयौँको भीड: कोरोना निम्तिने त्रास

वित्तीय संस्था खोल्दा सयौँको भीड: कोरोना निम्तिने त्रास

Trulli
ADVERTISEMENT

बागलुङ- आइतबारदेखि वित्तीय संस्था खुलाउने जिल्ला डिसिसिएमसीको निर्णयले बजारमा भीड बढेको छ । आइतबार बिहान बागलुङका चोकचोकमा सामान्य समयजस्तै सयौँ मानिसको भीड देखिएको थियो । कोरोना संक्रमणको कारण बजार क्षेत्रकै केही टोल सिल गरिएको छ । केही टोलमा भने भीड गर्दा संक्रमण रोकथाम गर्न कठिन हुने स्थानीयले बताए । 

 

‘१ साता बैंक बन्द गरेर केही फरक पर्ने थिएन बरु संक्रमणको चेन ब्रेक हुन्थ्यो,’ बागलुङ उद्योग वाणिज्य संघका सदस्य गणेशराज लम्सालले भने, ‘पुनः संक्रमणको डर बढ्यो ।’  ३१ जेठसम्म निषेधाज्ञा बढाइएकाले उक्त दिनसम्म वित्तीय संस्था पनि बन्द गर्दा कोरोनाको लहर निकै घट्ने उनले बताए । 


बैंक खुल्ने थाहा पाएपछि ग्रामीण क्षेत्रदेखि पनि मानिस ओइरिएका थिए । नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र प्रभु बैंकमा सबैभन्दा बढी भीड थियो ।


अन्यमा पनि धेरै मानिस कारोबारका लागि आएका थिए । ‘यो भीडले फेरि जोखिम बढायो,’ स्थानीय हीरा शर्माले भनिन्, ‘खानकै समस्या भएकाले उधारो पनि लगेका थिए । पछि तिरे पनि हुन्थ्यो । यतिबेला बैंकमा भीड गर्ने अवस्था होइन ।’ अत्यावश्यक रकमका लागि बिहान ७ देखि १० बजेसम्म एटिएम खुलेका थिए ।


बिरामी परेर गाडी रिजर्भ गर्नुपर्ने वा अन्य समस्या भएकाले एटिएम प्रयोग गरेकाले सामान्य कारोबार रोकेको भए राम्रो हुने पत्रकार राजेशचन्द्र राजभण्डारीको भनाइ छ । ‘बैंकमा काम परेर भीड गर्दा कोरोना नसर्ने, दिउँसो घरबाट निस्केर सर्ने त होइन,’ उनले भने, ‘कामै नपरेकाहरू पनि भीड गर्न निस्कने प्रवृत्ति राम्रो भएन ।’

 

तरकारी पसलमा पनि अनावश्यक भीड गर्ने, खाद्यान्न र निर्माण सामग्री भन्दै दैनिक सयौँ जिप तथा ट्रयाक्टर आउजाउ गर्दा बागलुङको संक्रमण न्यूनीकरणमा असर परेको स्वास्थ्यकर्मीको भनाइ छ । 


‘अहिले गाउँ-गाउँमा बढी संक्रमण देखिएको छ । निषेधाज्ञा लगाएको गाउँबाटै दैनिक गाडी लिएर आउने बढी छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘घरबाहिर जान नपरे हुन्थ्यो भन्ने हामीलाई बाध्यता छ । घरमै बसिदिनोस् भन्दा नमान्नेले संक्रमण फैलिएको छ ।’

 

निषेधाज्ञाको मान्यताअनुसार नचलेकाले संक्रमण नियन्त्रणमा नआएको उनले बताए । ७ दिनसम्म सबै सेवा ठप्प पारिदिने हो भने संक्रमण नियन्त्रणमा आउने बागलुङ नगरपालिका वडा नम्बर २ का सदस्य अर्जुन घिमिरे बताउँछन् ।

 

शनिबार केही बस्ती सिल गरेझैँ जिल्लै साता दिनका लागि सिल गर्ने हो भने निःसंक्रमणको अवस्थामा पुगिने उनको दाबी छ । बिहानीपख तरकारी, दूध र अत्यावश्यक सामानका लागि भनेर खुलेको समय दुरुपयोग भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

 

‘बिहान र बेलुकी डुल्ने, १ केजी तरकारीका लागि बजार घुम्ने प्रवृत्ति धेरै रहेछ,’ पल्ली मगरले भने, ‘निषेधाज्ञाका बेला सामान किनेर राख्न नसक्ने कोही छैन तर वहाना बनाउने धेरै छन् ।’