close

मेरिङ्देनले सार्वजनिक गर्‍यो दोभान बजारका अग्निपीडितले पाउने क्षतिपूर्तिको रकम

मेरिङ्देनले सार्वजनिक गर्‍यो दोभान बजारका अग्निपीडितले पाउने क्षतिपूर्तिको रकम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाको दोभान बजारका अग्निपीडितका लागि विपद् प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको हालसम्मको राहत रकम क्षतिको आधारमा पीडितलाई वितरण गर्ने भएको छ । 

 

अहिलेसम्म खातामा जम्मा भएको ७९ लाख ३९ हजार रुपैयाँ पीडितको क्षतिका आधारमा ३ वर्गमा विभाजन गरी वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । 

 

उनका अनुसार क्षतिको आधारमा वर्ग विभाजन गरी पीडितलाई बैंक खातामार्फत भुक्तानी हुने गरी वितरणको प्रबन्ध गरिएको छ । ३५ पीडित घरपरिवारले ‘क’ वर्गको राहतस्वरूप १ लाख ९९ हजार रुपैयाँका दरले रकम पाउनेछन् । ७ घर परिवारले ‘ख’ वर्गको राहतस्वरूप जनही ९० हजार र ८ घर परिवारले ‘ग’ वर्गको राहतस्वरूप २५ हजार रुपैयाँका दरले रकम पाउनेछन् ।

 

प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार आगलागी नियन्त्रण गर्न भत्काइएको स्थानमा ग्याभिन लगाउने कार्यमा ५० हजार, आगलागी नियन्त्रणका क्रममा प्रयोग भएको स्काइभेटरको इन्धन खर्च ३० हजार र पीडितका लागि बनाइएको अस्थायी घर (टेन्ट) मा विद्युत् व्यवस्थापनका लागि ५५ हजार रुपैयाँ खर्च भएको छ । 

 

गाउँपालिकाले पीडित परिवारले पाउने रकमको विवरण सार्वजनिक गर्दै वितरणको मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।