close

दैनिक उपभोग्य सामानको मूल्य अकासियो

दैनिक उपभोग्य सामानको मूल्य अकासियो

Trulli
ADVERTISEMENT

बाजुरा- वर्षात्का कारण अवरुद्ध भएको २ सातासम्म पनि साँफे-मार्तडी सडक सञ्चालनमा आउन सकेको छैन । झरी कम भएको १ साता भए पनि सडक खुल्न सकेको छैन । सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामानको मूल्यमा अचाक्ली वृद्धि भएको छ । २८ जेठबाट सडक अवरोध भएको हो ।


ठाउँ-ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयलाई समेत आउजाउ गर्न समस्या भएको छ । जिल्ला अस्पताल बाजुराबाट जिल्ला बाहिर रिफर गरेका बिरामीलाई उपचारमा लैजानसमेत समस्या छ । सडक सञ्चालन नहुँदा सदरमुकाम मार्तडीलगायत उत्तरी क्षेत्रका स्थानीय तह, हुम्ला, मुुगुुका बासिन्दालाई समस्या भएको छ ।

 
पहिराले बूढीनन्दान नगरपालिकाको बार्जुगाड-ताप्रिसेरा, बडिमालिका नगरपालिकाको पानिनाउला-बल्दे, अम्कोट-तिपाडालगायत ठाउँमा माथि र तलबाट पहिरोले सडक भासिएको छ । अन्य ठाउँमा सडक खोलेर सञ्चालनमा आए पनि अम्कोट भागमा भने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए । ‘डोजरले लगातार काम गरिरहेको छ । १-२ दिनमा सडक सञ्चालन आउँछ’, अधिकारीले भने ।
 

वर्षात्ले बाजुराका अन्य ग्रामीण सडक पनि अवरोध भएका छन् । ३ वर्षदेखि साँफे-मार्तडी सडक अवरुद्ध हुँदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भए पनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेरबहादुर शाही बताउँछन् ।

 

गत वर्ष मात्र ५ महिना सडक अवरुद्ध भएको थियो । बाजुरा खण्डको बार्जुगाड, ताप्रिसेरा बल्धे र पानिनाउलामा सबैभन्दा जोखिम भएको छ । बल्धेमा नयाँ ठाउँबाट सडक खन्नुपर्ने अवस्था आएको साँफेबगर डिभिजन कार्यलय बाजुराले जनाएको छ ।
 

विगत वर्ष वर्षात्को समय त्यही ठाउँमा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । हिउँदमै सडक भासिएको छ । वर्षात्मा यो सडक बन्दै हुने अवस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या छ । ‘गत वर्ष जोखिम कम थियो । यो वर्ष वैकल्पिक बाटो नखोले बर्खायाममा पूर्ण अवरोध हुने देखियो’, व्यापारी हंशबहादुर सिंहले भने ।