close

बस चले पाे ऋण तिर्नू, बढी भाडा के तिर्नू !

बस चले पाे ऋण तिर्नू, बढी भाडा के तिर्नू !

Trulli
ADVERTISEMENT

बागलुङ- बस किन्दा ३० लाख रुपैयाँ ऋण थियो । दैनिक कमाइ गरेरै उनले तिर्दै आएका थिए । तर, पछिल्लो २ वर्षदेखि बस व्यवसायी बैंक तथा वित्तीय संस्थाका लागि समयमा ऋण नतिर्ने भएका छन् । 

 

कोरोना संक्रमणका कारण बागलुङको अर्जेवाका लालकाजी पुनजस्तै बस व्यवसायीले समयमा किस्ता तिर्न सकेका छैनन् । बरु बेलाबेला बैंकको हप्की खान्छन् । ६ वर्षदेखि बागलुङ कुश्मा बस चलाउँदै आएका पुनजस्तै धेरै बस व्यवसायी अहिले पलायन भएका छन् । अधिकांसलाई बैंकले फोन गरेर हैरान बनाएको छ । 


११ चैत २०७६ देखि निषेधाज्ञा लागेपछि बस व्यवसायीले कहिले पनि भनेजस्तो यात्री बोकेर हिँड्न नपाएको बताए । ‘खाली खाली कुद्नुपर्ने, करमा भने छुट नपाइने भएपछि मैले माइक्रोबस बेचेर ट्रिपर किनेको छु,’ व्यवसायी चन्द्रबहादुर कार्कीले भने, ‘बस र माइक्रोमा लगानी गरेकाहरू मरिरहेका छन् । राज्यले कुनै विकल्प दिएको छैन ।’


काठमाडौंमा जोरबिजोर प्रणालीमा यातायात खुलेको सूचना पाएकाहरू बागलुङमा पनि खुल्ने आशमा थिए । तर, सिसिएमसीको बैठकले २ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । गत वर्षको ११ चैतमा बन्दाबन्दी सुरु हुनु ३ दिन पहिलेदेखि बसको यात्रा रोकिएको थियो । त्यसपछि बस व्यवसायीलाई सहज दिन फर्केर नआएको पुनले बताए ।


चैतदेखि असोजसम्म बस ठप्पै थिए । त्यसपछि पनि स्वास्थ्य मापदण्डको नियमित अनुगमन भयो । सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने स्वास्थ्य मापदण्डको पालना गर्दा यात्री चढेनन् । 

 

‘जिपमा ७ देखि १० जना कोचाकोच हिँड्दा कसैले पनि जाँच गरेनन् । बसमा १०/१५ जना हुँदा पनि दिनदिनै अनुगमनमा परिन्थ्यो,’ पुनले भने, ‘तिनै जिपले दोब्बर भाडा असुल्थे । बसमा ५ रुपैयाँ बढी भाडा माग्न पाइएन ।’ निषेधाज्ञाको समय भने रातो प्लेटका सवारीले १० गुणासम्म भाडा लिएर यात्री ओसारेको कार्कीले टिप्पणी गरे । 


निषेधाज्ञामा ट्याक्सी चढेर पोखरा जाँदा ५ हजार रुपैयाँ भाडा तिर्नुपरेको पत्रकार दिल शिरिषले गुनासो गरे । ‘अत्यावश्यक कामले गएको थिएँ । ५ हजार रुपैयाँ भाडा लाग्यो,’ उनले भने, ‘ट्याक्सीमा अरू २ जना पनि राख्ने रहेछन् ।’ पोखरा गएर फर्कंदा उनीहरूले ३० हजार रुपैयाँ कमाएको उनले बताए । सार्वजनिक यातायातकै नाममा २/४ सय रुपैयाँमै पोखरा लैजान सक्ने माइक्रोबस र बसलाई भने रोकिएको हो । 


खाद्य र निर्माण सामग्री बोक्ने निहुँमा हजारौँ ठगी भएको पुनको टिप्पणी छ । ‘खाद्यान्न बोक्ने भनेका छन् । महँगो भाडा असुल्छन् । प्रहरी चेकिङ छलेर मानिस पनि ओसार्छन्,’ पुनले भने, ‘तिनलाई निषेधाज्ञा र चैतेदसैँ एउटै भएको छ ।’  पुनले ६ वर्षअघि ३० लाख रुपैयाँमा २५ सिटे बस किनेका थिए । बैँकबाट लिएको ऋणको किस्ता मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । सुरुमा चालक राखेका थिए । पछि आफंैले चलाउन थाले ।

 

‘चालकको खर्च ३५ हजार, खलासी खर्च १५ हजार रुपैयाँ । नियमित तेल खर्च र मर्मत गर्नैपर्छ,’ उनले भने, ‘महिनाको १ लाख रुपैयाँ कमाइ भयो भने मुस्किलले २५ देखि ३० हजार बचाउन सकिन्छ ।’

 

त्यही बचतले घरपरिवार धान्ने गरेोमा पोहोरको ६ महिना र अहिलेको २ महिने बन्दले ऋणको भारी बढेको उनले गुनासो गरे । पुन मात्र हैन, बस व्यवसायी नन्दु घिमिरे, रामबहादुर श्रेष्ठ र लक्ष्मी शर्माले पनि लाखौँको बस ग्यारेजमा राखेर नियमित किस्ता, ब्याज र कर तिर्नुपर्दा घरपरिवारको उठीबास लाग्ने खतरा बढेको गुनासो गरे । 

 

यहाँको धौलागिरि गण्डकी यातायात कम्पनीमा ३ सय बस, भगवती यातायात कम्पनीले जिप र बसमा झन्डै ५० करोड रुपैयाँ लगानी गरेको छ । बुर्तिवाङ यातायात सेवा कम्पनीमा ८० सवारी सूचीकृत छन् । कम्पनीका वरिष्ठ उपाध्यक्ष कुलबहादुर सिंजालीका अनुसार ६० करोड रुपैयाँ लगानी छ । निषेधाज्ञाले लगानी डुबेको उनले गुनासो गरे । झन्डै ८ सय सवारी साधनमा प्रत्यक्ष २ हजार ४ सय जना रोजगार छन् ।