close

सिरिजंगामा बसाइँ सर्नेको डरलाग्दो तथ्यांक: ५३० ले गाउँ छाडे, २० जना आए 

सिरिजंगामा बसाइँ सर्नेको डरलाग्दो तथ्यांक: ५३० ले गाउँ छाडे, २० जना आए 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंगा गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/७८ को यो अवधिसम्म ५३० जना बसाइँ सरी अन्यत्र जाँदा २० जना मात्र गाउँपालिका आएका छन् । 

 

गाउँपालिकाले पञ्जीकरण तथ्यांक सार्वजनिक गर्दै बसाइँसराइको अवस्थाबारे जानकारी गराएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार सबैभन्दा बढी वडा नम्बर ७ खेवाङबाट १४९ जना बसाइँ सरी गएका छन् । त्यहाँ ४ जना बसाइँ सरी आएका छन् ।

 

सबैभन्दा कम वडा नम्बर ८ याम्फुदिनबाट १३ जना जाँदा १ जना आएका छन् । यस्तै, वडा नम्बर ६ मामाङ्खेबाट १८ जना गएका छन् भने त्यहाँ बसाइँ सरी आएका छैनन् ।

 

वडा नम्बर १ सिनामबाट ५३ जना बसाइँ सरी जाँदा ११ जना आएका छन् । वडा नम्बर २ आम्बेगुदिनबाट १२०, वडा नम्बर ३ सिकैचाबाट ७३ र वडा नम्बर ४ तेल्लोकबाट ६४ जना बसाइँ सरी जाँदा ती वडामा कोही आएनन् ।

वडा नम्बर ५ पेदाङबाट ४० जना बसाइँ सरी जाँदा त्यहाँ पनि आउनेको संख्या शून्य छ । पालिकामा चालू आर्थिक वर्षको मध्य असारसम्म वडा नम्बर १ सिनामका २ र वडा नम्बर ७ खेवाङका १ गरी ३ जनाले सम्बन्ध विच्छेदको घटना दर्ता गराएका छन् । 

 

जन्मनेमा महिला र मृत्यु हुनेमा पुरुष बढी 


यो अवधिमा पालिकाभर २७० महिला र २४० पुरुष गरी ५१० जनाको जन्मदर्ता हुँदा ५८ महिला र ६९ पुरुष गरी १२७ जनाको मृत्यु भएको विवरण दर्ता भएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार यो अवधिमा ८१ जनाले विवाह दर्ता गराएका छन् ।