close

२ वटा पहिरोले टुट्याे जिल्लाभरकाे सम्पर्क

२ वटा पहिरोले टुट्याे जिल्लाभरकाे सम्पर्क

Trulli
ADVERTISEMENT

बागलुङ- सदरमुकाम बागलुङ बजार र राष्ट्रिय राजमार्गमा जोडिने बागलुङमा मुख्य २ सडक छन् । सडक निर्माण भएदेखि नै हरेक वर्षको वर्षामा ती सडकमा पहिरोको समस्या आउँछ । मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड र कालीगण्डकी करिडोर तथा बागलुङ–कुश्मीसेरा सडक सोमबार रातीदेखि पहिरोका कारण अवरुद्ध छन् । 

 

लोकमार्गको बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा पहिरो खसेको छ । यो सडक राजमार्गलाई सरकारले गौरवको योजना भनेको छ । तर, सडकमा सधैँ समस्या आउँदा यात्रुले सास्ती खेप्ने गरेको सवारीचालक गोविन्द शर्माले बताए ।

 

बोक्सेमा पहिरो नियन्त्रण प्रयास भए पनि मूलको पानी र वर्षाको पानीले रातो माटो बगाउँदा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । ‘त्यहाँ समस्या भइरहन्छ । हाम्रा मेसिन तयारी अवस्थामा छन्,’ कार्कीले भने, ‘बेलाबेलामा खसिरहने पहिरोले अवरुद्ध हुने र खुल्ने भइरहन्छ ।’

 

बागलुङ बजारदेखि खहरे निस्किने गरी बोक्सेको पहिरो छल्न बनाइएको वैकल्पिक सडकमा सोही पहिरोले अवरुद्ध गर्ने गरेको स्थानीय बताउँछन् । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका ७ वटा स्थानीय तहमा सडक सञ्जाल टुट्ने गरेको छ ।

 

कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीसेरा सडक अवरुद्ध गर्ने गरी बागलुङ नगरपालिका वडा नम्बर १० भकुन्डेको एक्लेसालमा ठूलो पहिरो खसेको छ । बोक्से र एक्लेसालको पहिरो नयाँ भने होइनन् । मध्यम खाले वर्षा हुँदा मात्रै दुवै ठाउँमा पहिरोले सडक अवरुद्ध हुने गरेका छन् ।  ‘पानी पर्‍यो कि बाटो पाइँदैन । बन्द भयो होला भन्ने पहिलै अनुमान लगाउन सकिन्छ,’ सवारी चालक लोकप्रसाद शर्माले भने, ‘४ वर्षदेखि गाडी चलाइरहेको छु । सधैँ बर्खामा सास्ती हुन्छ ।’ 

 

सडकले नै जमिन कमजोर बनाएका कारण पहिरोको समस्या आइरहने गरेको प्रजिअ कार्की बताउँछन् । ‘तत्काल दिगो व्यवस्थापन गर्न सकिने देखिँदैन । ठूलै प्रोजेक्ट चाहिन्छ,’ कार्कीले भने, ‘ठूलो भू-भागमा ग्याविन जाली नलगाएसम्म यो सडकको दिगो समाधान हुँदैन ।’ जिल्लाको दक्षिण जोड्ने दुवै सडक अवरुद्ध हुँदा जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिका क्षेत्रका सर्वसाधारण प्रभावित हुने गरेका छन् । 

 

‘२६ वर्ष भयो बाटो बनाउन थालेको । कहिल्यै ठीक छ भन्ने दिन आएन,’ बलेवाका स्थानीय नन्दप्रसाद घिमिरेले भने, ‘बिरामी पर्दा अस्पताल पुग्न, आपतकालमा बाटो रोकिँदा समस्या हुने ।’ लोकमार्गको बोक्से खण्डमा कालोपत्रेको काम थालेको ५ वर्ष भयो । तर, निर्माण कम्पनीले म्याद थप्ने र सरोकारवालाको कम चासोका कारण हरेक वर्ष समस्या दोहोरिने सर्वसाधारणको गुनासो छ । कालोपत्रे भइसकेको बागलुङ कुश्मीसेरा सडकमा आएको पहिरोको दिगो उपाय हिउँदमा नखोज्दा समस्या कायम रहेको घिमिरेले गुनासो गरे ।